केन्द्रीय सुरक्षा समितिको बैठकमा रौतहटमा भएको घटना र निर्वाचनको सुरक्षाको तयारीका विषयमा छलफल भएको छ । सुरक्षा निकायका चारवटै प्रमुखसहित बसेको बैठकमा एकीकृत सुरक्षा योजना र रौतहटमा सद्भाव कायम गर्न आग्रह गरिएको विषयमा छलफल भएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
‘निर्वाचनका लागि एकीकृत सुरक्षा योजना र निर्वाचनका प्रचारप्रसारका क्रममा देखिएका गैह्रकानुनी गतिविधिलाई कानुनी दायरामा ल्याउने र दलहरुलाई आचारसंहिता पालना गरेर अगाडि बढ्न आग्रह गरिएको छ । कानुनीविपरीत गर्नेलाई कारबाही गर्न प्रशासनलाई पनि निर्देशन दिइएको छ । प्रवक्ता काफ्लेले भने, ‘रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग समन्वय गरेर उच्च संयमता र सद्भाव कायम गर्नका लागि आग्रह गरिएको छ । घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।’
उनले तराई क्षेत्रमा हुनसक्ने गतिविधि प्रतिवेदन पेश गर्ने निर्देशन दिइएको पनि जानकारी गराए । उनका अनुसार बैठकले निर्वाचनका संवेदनशील क्षेत्रमा गएर संगठनमार्फत प्रतिवेदन बनाउन निर्देशन दिएको छ ।