एअर इन्डियाकाे विमान दुर्घटना : कुन देशका कति नागरिक थिए ?

Yangle News
Yangle News
२०८२ जेष्ठ २९ गते
एअर इन्डियाकाे विमान दुर्घटना : कुन देशका कति नागरिक थिए ?

भारतको गुजरातमा रहेको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।

२ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको उडान नम्बर एआई-१७१ विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ । बोइङ ७८७–८ विमानले उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले समाचार एजेन्सी एपीसँग कुराकानी गर्दै एअर इन्डियाको विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताएका छन् । दुर्घटनाग्रस्त विमानमा २ सय ३२ यात्रु, २ चालक र १० क्याबिन क्रु सदस्य रहेका एअर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जानकारी दिएको छ ।

विमानमा रहेकामध्ये १ सय ६९ जना भारतका, ५३ जना बेलायतका, सात जना पोर्चुगलका र एक जना क्यानडाका रहेका खबरमा उल्लेख छ । दुर्घटनामा घाइते भएकाहरूलाई नजिकको अस्पतालमा लगिएको छ ।

दुर्घटनामा कम्तीमा १३३ जनाको मृत्यु भएको जनाइएको छ। अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले कम्तीमा १३३ जनाको मृत्यु भएको जानकारी दिएको छ। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अहमदाबाद प्रहरीले खोजी तथा उद्धार कार्य जारी रहेको बताएको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनामा सबै जना स्तब्ध र दुःखी भएको बताएका छन् । यो दुर्घटना हृदयविदारक र शब्दमा वर्णन गर्न नसकिने रहेको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।