शंखरापुर दुर्घटना : ४ जनाको मृत्यु, २२ घाइते

Yangle News
Yangle News
२०८२ पुस २३ गते
शंखरापुर दुर्घटना : ४ जनाको मृत्यु, २२ घाइते

काठमाडौंको शंखरापुर नगरपालिका-३ स्थित फेरी जंगलमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । वनभोज खाएर फर्किएको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएका जानकारी दिए । उनका अनुसार हालसम्म मृतकहरुको सनाखत हुन सकेको छैन । ज्यान गुमाउनेमा स्तुपा अस्पतालमा १ महिला, एनएमसीमा १ पुरुष र १ महिला तथा शंखरापुर अस्पतालमा उपचाररत १ महिला रहेका छन् ।

प्रहरीका अनुसार साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको थियो । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पताल सउपचार भइरहेको छ ।

उक्त बसमा ४० जना सवार रहेको प्रहरीको अनुमान छ । ‘नेचर हर्ब’ नामक संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।