संसदको पहिलो बैठकमा कसले के भने ?

Yangle News
Yangle News
२०८२ चैत्र १९ गते
संसदको पहिलो बैठकमा कसले के भने ?

भदौ २३ र २४ को जेनजी विद्रोहको जगमा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठक आज सम्पन्न भयो । कार्यसूचीअनुसार पहिलो बैठकमा संसद्‌मा उपस्थित दलका नेतासहित स्वतन्त्र सांसदसम्मले धारणा राखे ।

बैठकको शुरूआतमै संसद्को तेस्रो शक्ति नेकपा एमालेले समय लिएर आकस्मिक विषयको उठान गर्‍यो । विशेषगरी आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयमा एमालेले विरोध जनायो । एमालेले २३ भदौको जिम्मेवारी बोकाउँदै फौजदारी अभियोगको नाममा आफ्ना पार्टी अध्यक्ष र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ गर्न नमिल्ने भन्दै आजै रिहाइ गर्न माग गर्‍यो ।

संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबार चलाउन नभइ सिंहदरबार बदल्न म्यान्डेट दिएको र गर्वसाथ आफूहरूले त्यो म्यान्डेट पूरा गर्न थालेको रविले बताए । उनले भने, ‘तपाईंहरूले सरकारको रफ्तार देखिसक्नुभएको छ । अब कर्मचारीतन्त्रसहित सिंगो देशले यो रफ्तारसँग गति मिलाउनुको विकल्प छैन । हामी आफ्ना मात्र होइन, जायज छन् भने विपक्षी दलका चुनावी प्रतिबद्धताको पनि स्वामित्व लिन तयार हुनुपर्छ ।’

उनले प्रतिपक्षी दलहरूलाई चौबीसै घण्टा निगरानी गरिदिन पनि आग्रह गरे । ‘शासनमा तपाईंहरूको लामो अनुभव छ, हाम्रा कमजोरी उजागर गरिदिनुहोला, गल्ती देखाइदिनुहोला, यदि हामीले बाटो बिरायौं भने सच्याइदिनुहोला‚’ उनले भने‚ ‘यदी हामी जनताबाट टाढा हुन खोज्यौं भने हामीलाई जनताको आवाज सम्झाइदिनुहोला । हामीमा अहंकार नबढोस्, हाम्रा निर्णयहरू एकतर्फी नहुन् ।’

आफ्नो सम्बोधनको क्रममा रविले संसद्लाई प्रतिशोधको नभइ बहसको थलो बनाइने बताए । हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानूनै संशोधन गरिएको र अध्यादेश ल्याइएको भन्दै त्यस्ता गलत क्रियाकलाप अबको संसद्‌मा रास्वपा नेतृत्व सरकारले नगर्ने रविको दाबी छ । उनले प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको अध्याय नदोहोरिने बताउँदै आस्थाका आधारमा फरक व्यवहार समेत नहुने र कसैको माइक नकाटिने बताए । ‘संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुनेछैन । तर सुशासनको वेग भने रोकिनेछैन । न्याय पाउने पहिलो हक सहिदकी आमाको हो । त्यसलाई प्रतिशोध भन्न पाइनेछैन‚’ रविले भने ।

नेपाल लगानीका लागि पूर्णत: सुरक्षित भएको र यसका लागि राजनीतिक स्थिरता, कानूनी सुरक्षा र पारदर्शी प्रशासनको रास्वपाले ग्यारेन्टी गर्ने भन्दै उनले नीतिहरू अब बजारमा ‘नबेचिने’ समेत बताए । ‘निर्णयहरू कसैको दबाबमा बन्ने छैनन् । व्यावसायिक क्षेत्रमा तपाईंहरूले अनुभव गरेको असुरक्षा, अनिश्चितता र दबाब सधैंका लागि समाप्त हुनेछ । बिचौलिया र माफिया अब रहनेछैनन्‚’ उनले भने ।

बैठकमा नेपाली कांग्रेसले पनि भदौ २३ र २४ को जेनजी विद्रोह र त्यसपश्चातको राजनीतिक परिवेशमाथि प्रश्न उठायो । पार्टीको तर्फबाट बोल्दै सांसद भीष्मराज आङ्देबेले संसद् भवन भदौ २४ गते खरानी भएको भन्दै त्यो खरानीलाई सम्झेर भविष्यमा यो देशलाई खरानी बनाउन कोही अघि नसर्ने संकल्प गर्नुपर्ने उल्लेख गरे । ‘किन खरानी भयो संसद् भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौं भौतिक संरचना ? सभामुख महोदय म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु- भदौ २३ र २४ दुवै दिनका घटनालाई एक-एक केलाउन जरुरी छ‚’ उनले भने । साथै उनले कसैले २३ गतेको घटना देख्ने र २४ को नदेख्ने तथा कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने यी दुवै प्रवृत्ति एकदम गलत भएकोसमेत उल्लेख गरे ।

उनले सरकारले बनाएको जाँचबुझ आयोगले समेत २३ गतेको घटनाको अनुसन्धान गरेर कारबाहीको सिफारिस गर्दा २४ भदौको घटनाको अनुसन्धान गर्न भ्याइएन भन्ने कस्तो तरिका हो भन्दै प्रश्न गरे । ‘पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरूबाट नियतवश भएको होइन भनेर भन्न मिल्ने देखिन्न‚’ उनले भने‚ ‘नयाँ प्रधानमन्त्रीजीलाई म ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने ?’ उनले जेनजी विद्रोह जस्तै विद्रोह र विस्फोट भविष्यमा हुन नदिन साँच्चै नयाँ र दूरदर्शी ढंगले सोच्न र काम गर्न जरुरी रहेको बताए ।

संसद्को तेस्रो शक्ति नेकपा एमाले भने रास्वपा सरकारप्रति आक्रामक देखियो । बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रास्वपाको जीतमा सेनादेखि बारबरा फाउन्डेसनसम्मको नाम लिएर बधाई दिए । बादलले रास्वपाको जीतमा विभिन्न शक्तिहरूको भूमिका रहेको आरोप समेत लगाए । चुनावी जीतका लागि रास्वपालाई बधाई दिने क्रममा बादलले अन्य विभिन्न शक्तिहरूलाई पनि बधाई दिएका हुन् । ‘ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाहलाई एमालेका तर्फबाट बधाई’, बादलले भने, ‘यो जीतमा मुख्यत: सुशीला सरकार, नेपाली सेना, कार्की आयोग, बारबरा फाउन्डेसन एनजीओजस्ता संस्था तथा पात्रहरूको पनि भूमिका रह्यो, उहाँहरूलाई पनि बधाई ।’ उनले टीओबी, अल्गोरिदमदेखि गोयबल्सहरूका कारण रास्वपाको जादूमयी जीत सम्भव भएको जिकिर गरे ।

सात मिनेट समय पाएर बोलेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले भने रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टी र सरकार टिकाउन सुझाव दिए । उनले रास्वपाको जस्तै प्रचण्ड बहुमत विगतमा माओवादीको पनि आएको तर त्यसलाई टिकाउन नसकेको स्मरण गराए । उनले राष्ट्र निर्माणका लागि र लोकतन्त्रको सर्भिसिङ गर्न नेकपाले सरकारलाई साथ दिने पनि बताए । साथै, उनले नवयुवाले आफूहरूले विगतमा गरेको विकासको गतिले नपुगेर जेनजी विद्रोह गरेको पनि उल्लेख गरे ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीदेखि दर्जन बढी माग संसद्‌मा राखे । पृथ्वी रहुन्जेल देश रहनुपर्ने र स्वाधीनता, भूराजनीतिक सन्तुलन बचाइराख्न पनि एमसीसी खारेज गर्नुपर्ने उनको भनाइ थियो । उनले छिमेकीले गरेका गतिविधिमा सरकारले निगरानी राख्नुपर्ने र सिमानाको रक्षामा नेपाली सेना खटाउनुपर्ने धारणा राखे ।

यस्तै उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनेगरी नीति तथा कार्यक्रम अघि बढाउन माग गर्दै डिस्कर्ड चलाएर स्कूल ड्रेसमा बालबालिका बोलाउने, २३ गतेको घटना घटाउने, भदौ २४ गते सरकारी भवन जलाउने मान्छेलाई पनि कारबाहीमा ल्याउन आयोग गठन गर्नका लागि हामी माग गरे । ‘सबैभन्दा पहिला अघिल्लो सरकारमा रहेका सबै मन्त्री र सांसदको सम्पत्ति छानबिन हुनुपर्छ । हामीबाट शुरू हुनुपर्छ । हामीले नियम बनाउने हो भने हामीबाटै शुरू गर्नुपर्छ‚’ उनले भने ।

हर्कले खेतीको समस्या हल नगरी अन्य समस्या हल गर्न नसक्ने भन्दै एक पालिकामा एउटा उद्योग र एक घरमा एक रोजगार हुनुपर्ने तथा बन्द गरिएका उद्योग खोल्ने र नयाँ खोल्ने नीति हुनुपर्ने धारणा राखे । साथै, उनले प्राकृतिक स्रोत र साधनको सदुपयोग गर्न पाउनेगरी नियम कानून बनाउनुपर्ने र देशभरि शान्ति सुव्यवस्था हुनुपर्ने तथा खानेपानी, स्वास्थ्य सेवामा ध्यान दिनुपर्ने लगायतका माग राखे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले रास्वपा नेतृत्वको सकारले सहकारी ठगीमा संलग्नलाई कारबाही गर्ने विश्वास आफूलाई रहेको बताए । उनले प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङले सहकारी पीडितलाई न्याय दिलाउने आशा रहेको पनि धारणा राखे । सरकारले आफ्नो स्रोतबाट नभइ सहकारी ठगबाटै रकम फिर्ता गराउनुपर्ने शाहीको माग छ । उनले निर्मला पन्तदेखि इनिशा विकसम्मलाई यो सरकारले न्याय दिने पनि आशा प्रकट गरे । शाहीले वर्तमान सरकारलाई बहुमतको अहंकार नदेखाउन पनि धारणा राखे । उनले असंलग्न परराष्ट्र नीतिबाट यो सरकार अघि बढ्नुपर्ने धारणा राखे । शाहीले देशलाई हिन्दूराष्ट्र घोषणना गर्न पनि माग गरे । यसका लागि संविधान संशोधन गर्दा सरकारलाई दुई तिहाउ पुर्‍याउन सहयोग गर्ने समेत उल्लेख गरे ।

बैठकको अन्तिम स्वतन्त्र सांसद महावीर पुनले आफू अरूभन्दा निकै फरक रहेको भन्दै सबैसँग मिल्न नसक्ने बताए । ‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु । म फरक छु । बोल्ने तरिका फरक छ । काम गर्ने तरिका फरक छ । म प्राय: सबैसँग मिल्दिनँ । म आउनै नपर्ने मान्छे यहाँ कसरी आइपुगेँ भन्न पनि चाहन्छु,’ उनले भने ।

सांसद पुनले आफू अमेरिकाबाट फर्किएपछि ३३ वर्षदेखि पूर्णकालीन समाजसेवीका रूपमा रहेको सुनाए । ‘म अमेरिकामा पढेर २०४९ भाद्रमा आएको । अहिलेसम्म ३३ वर्षभन्दा बढी काटिसक्यो । एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा काम गरिराखेको छु । म राजनीतिज्ञ होइन, समाजसेवी नै रहनेछु’, पुनले भने ।

पुनले सदनमा आफ्नो भूमिका पक्ष-विपक्षभन्दा पनि निष्पक्ष हुने बताए । साथै, उनले आफू शिक्षामन्त्री छँदा गर्न नपाएको कामको फेहरिस्तसमेत सुनाए ।