दुई पक्षबीच सहमति प्रयास विफल, अन्तत: फुट्यो कांग्रेस

Yangle News
Yangle News
२०८२ पुस ३० गते
दुई पक्षबीच सहमति प्रयास विफल, अन्तत: फुट्यो कांग्रेस

नेपाली कांग्रेसभित्र रूपान्तरण चाहने र नचाहनेबीचको संघर्ष बढ्दै जाँदा देशको सबैभन्दा ठूलो दल विभाजन भएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले पटक-पटक माग गरे पनि देउवा पद छोड्न तयार नभएपछि पार्टी फुटेको हो ।

देउवा समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गरेको छ । यता विशेष महाधिवेशनले अब सभापतिमा गगन थापालाई चयन गर्ने प्रक्रिया अघि बढाएको छ । पार्टीको संस्थापन पक्षको बहुमत रहेको समितिले पार्टीको निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेका कारण तीन जनालाई अनुशासनको कारबाही गरेको बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

दुई पक्षबीच सहमति गर्ने प्रयास विफल भएपछि पार्टीको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको बैठक सानेपामा बसेको हो । दुई पक्षबीच केही दिनदेखि भएको वार्ताबाट परिणाम ननिस्किएपछि आज बिहान दुई महामन्त्री र पार्टी सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

पार्टी एकता कायम राख्नका लागि वार्तामार्फत सहमति जुटाउने प्रयास भइरहेको भन्दै आयोजकहरूले दुई दिनका लागि डाकिएको विशेष महाधिवेशन लम्ब्याएका थिए । संस्थापन भनिएको पक्षले कारबाहीको घोषणा गरेपछि विशेष महाधिवेशन पक्षधरहरूले त्यसबारे प्रतिक्रिया दिएका छन् ।

संस्थापन पक्षले कारबाही गरेको निर्णय सार्वजनिक भएपछि विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी विभाजित नभएको दाबी गरे । उनले विशेष महाधिवेशन नै मूल पार्टी भएको तर्क गरे । संविधान र निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता प्रदान गर्ने उनको दाबी छ ।

थापाले बिहान पार्टी सभापति शेरबहादुर देउवासँग भएको भेटमा आफूहरूले विशेष महाधिवेशनबाटै अन्तरिम नेतृत्व चयन गरेर जान सुझाव दिएको तर त्यसको सुनुवाइ नभएको बताए । आमचुनावमा पार्टीले आफ्नो प्रधानमन्त्री उम्मेदवार जो भए पनि तोकेर जाऔँ तर देउवा हैनन् भन्नुपर्ने माग आफूहरूको रहेको उनको भनाइ छ ।

थापा र शर्माको आह्वानमा गएको आइतवार शुरू भएको विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने प्रक्रिया अघि बढाइसकेको छ । हिजो विशेष महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई पार्टीको नेतृत्व र देशको प्रधानमन्त्रीका रूपमा अघि सारिने बताएका थिए ।

विशेष महाधिवेशनमा सक्रिय रहेका नेता प्रदीप पौडेलले अब आजै पार्टी नेतृत्वको चुनावी प्रक्रिया अघि बढ्ने बताए ।