विश्लेषकको दाबी- यी ३ कारणले सेयरबजारमा सुधार आउँछ

Yangle News
Yangle News
२०८२ अशोज २ गते
विश्लेषकको दाबी- यी ३ कारणले सेयरबजारमा सुधार आउँछ

जेनजी आन्दोलनका कारण गत साता मंगलबारदेखि बन्द रहेको सेयरबजार आज खुलेको थियो । तर, नतिजा सुखद रहेन । अन्तरिम सरकार बनेपछिको पहिलो कारोबार दिन आज सेयर बजारमा तेस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेर कारोबार बन्द भयो ।

कारोबार सुरु हुनासाथ ओरालोतिर लागेको बजार दुई मिनेटमा नै चार प्रतिशतले घटेर पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट रोकिएर खुलेको बजार लगत्तै एक मिनेटमै पाँच प्रतिशतले घटेर दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रोपटक नकारात्मक सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि रोकिएर खुलेको बजार ६ प्रतिशतले घटेर तेस्रो सर्किट ब्रेक लाग्यो । त्यससँगै आजका लागि कारोबार बन्द भएको हो ।

सेयर बजार तीव्र गतिमा उकालो लाग्दा वा ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतारचढावमा कारोबार स्थगन गर्ने प्रणाली ‘सर्किट ब्रेक’ हो । कारोबार सुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, त्यसपछि ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा ‘सर्किट ब्रेक’ लाग्ने व्यवस्था छ ।

बिहीबार पहिरो गएको बजार १ सय ६०.३३ अंकले घटेर बजार २५ सय ११.९१ बिन्दुमा झरेको छ । जम्माजम्मी पाँच मिनेटमात्र कारोबार हुन सकेको बजारमा ७२ करोड रुपैयाँको कारोबार भएको छ ।

आन्दोलन र राजनीतिक घटनाक्रमका कारण गएको साता मंगलबारदेखि बन्द रहेको सेयर कारोबार आज बिहीबारदेखि खुलेको हो ।

शेयर बजारसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने अर्थमन्त्रालयमा अर्थतन्त्रलाई नजिकबाट नियालेका पूर्वअर्थ सचिव रामेश्वर खनाल अर्थमन्त्रिमा नियुक्ति भएका छन् । यसले सेयर बजारका लगानीकर्तामा सकारात्मक प्रभाव पर्नुपर्ने हो । तर, आजको अवस्थाले लगानीकर्ताहरु डराएको देखाउँछ ।

यद्यपि, शेयर बजारमा यतिको ठूलो दबाब अबको दिन नपर्ने शेयर बजारका जानकारहरुको दाबी छ । उनीहरुले तीन कारणबाट सेयरबजारमा सुधार आउने दाबी गरेका छन् । सस्तो ब्याजदर, पर्याप्त तरलता र नियामकहरुले सहज नीति ल्याउन पहल गरिरहेकाले गर्दा सेयरबजारले छलाङ मार्ने विश्लेषकहरुको भनाई छ ।