सन् २०२३ को पर्यटक आगमनको सरकारी लक्ष्य पूरा भएको छ । सरकारले यस वर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । डिसेम्बर अन्तिम साता आइपुग्दा १० लाख पर्यटक भित्र्याएर सरकारले आफ्नो लक्ष्य पूरा गरेको हो ।
पर्यटन बोर्डका अनुसार डिसेम्बर २७, २०२३ बिहानसम्म ९ लाख ९९ हजार १०९ जना विदेशी पर्यटक नेपाल भित्रिसकेका थिए । जसमा बुधबार बेलुका ४ बजेसम्म थप ३ हजार बढी पर्यटक भित्रिएको अध्यागमन विभागले जनाएको छ । बुधबार मात्र नेपालीसहित कूल ६ हजार २०२ जना त्रिभुवन विमानस्थल अध्यागमन हुँदै नेपाल भित्रिएका छन् ।
१० लाखको लक्ष्य पुरा हुँदै गर्दा पर्यटन क्षेत्रको सुधारमा सरकार सफलता भएको मान्न सकिए पनि समयमा नै पर्यटन गतिविधि प्रचारप्रसार तथा आवश्यक तयारी नहुँदा अझ बढी पर्यटक भित्र्याउन नसकिएको पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दोस्रो पटक मुलुकको नेतृत्व सम्हालेको एक वर्ष पुरा भएको अवसरमा देशका नाममा सम्बोधन गर्दै पर्यटन भित्र्याउने सवालमा सरकार सफल भएको बताएका थिए ।
पर्यटन क्षेत्रको लय करिब कोभिड–१९ पूर्व कै अवस्थामा फर्किसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो वर्ष पर्यटकको सङ्ख्या लगभग रेकर्डकै रूपमा बढेको दाबी गरेका थिए ।
नेपालको पर्यटन बजारको हिसाबले छिमेकी भारत र बंगलादेशी पर्यटकको उत्साहप्रद सहभागिता देखिएको छ । यो वर्ष भारतीय र बंगलादेशी पर्यटक सन् २०१९ को भन्दा पनि बढी आगमन भएको छ । सन् २०१९ को तुलनामा यो वर्ष भारतीय पर्यटकको आगमन १३ प्रतिशतले वृद्धि भएको हो ।
यसै गरी, सन् २०१९ मा जम्मा २५ हजार ८४९ जना मात्र बंगलादेशी पर्यटक आएकामा यो वर्ष ३१ हजार २७७ जना नेपाल आएको बोर्डले जनाएको छ ।
यसै गरी अमेरिकी पर्यटक समेत सन् २०१९ को तुलनामा केही सङ्ख्या बढेर ९३ हजार ३२७ जना भित्रिएका छन् । सन् २०१९ मा ९३ हजार २४१ जना अमेरिकी पर्यटक नेपाल आएका थिए ।