प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको चपेटामा सबैभन्दा बढी अल्पविकसित राष्ट्रहरू परिरहेको गुनासो पोखेका छन् ।
स्पेनको ऐतिहासिक शहर सेभिल्लामा आयोजित सम्मेलनमा अल्पविकसित राष्ट्रहरूको तर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले विकसित राष्ट्रहरूको प्रविधि, लगानी र नवप्रवर्तनमा द्रुत उन्नति भइरहे पनि अल्पविकसित मुलुकहरू अझै डिजिटल र प्राविधिक विभाजनको सिकार भइरहेका बताए ।
‘जलवायु परिवर्तनको प्रभाव सबैभन्दा बढी हामीजस्ता देशमा परेको छ, जबकि हामीले विश्वभरका हरितगृह ग्यास उत्सर्जनमा १ प्रतिशतभन्दा कम योगदान गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने । उनले विकासशील मुलुकहरू, विशेष गरी अल्पविकसित राष्ट्रहरूका लागि वित्तीय सहायता, प्रविधिको पहुँच, नियम-आधारित व्यापार प्रणाली र न्यायसंगत वित्तीय संरचनाको माग गरे । ऐक्यबद्धताको बेला सहयोग घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सहुलियतपूर्ण अनुदान, पर्याप्त जलवायु वित्त र अन्तर्राष्ट्रिय कर सम्मेलनको उनले माग गरे ।
‘दश वर्षअघि आदिस अबाबाबाट सुरु भएको ऐक्यबद्धताको यात्रा अझै अधुरो छ,’ उनले स्मरण गराए, ‘केवल चार अल्पविकसित राष्ट्रले स्नातक गरेका छन्, जबकि विकास र समृद्धिको सपना अझै टाढा छ ।’
नेपालको सन्दर्भमा उनले मुलुकले सन् २०२६ मा अल्पविकसित मुलुकको सूचीबाट स्नातक हुँदै गरेको जानकारी दिँदै त्यो यात्रामा अन्तर्राष्ट्रिय साझेदारहरूको सशक्त साथ आवश्यक रहेको उल्लेख गरे । सेभिल्ला सम्मेलनमा नेपाल, नर्वे, जाम्बिया र मेक्सिको सह-सम्पादकको भूमिका निर्वाह गरेकोमा गौरव व्यक्त गर्दै प्रधानमन्त्रीले सेभिल्ला प्रतिबद्धतालाई ‘न्यायसंगत, समावेशी र दिगो भविष्य’ को आधार बनाउने दृढता व्यक्त गरे ।
निराशालाई पार गरी आशालाई पुनः जागृत पार्न सेभिल्ला प्रतिबद्धताको तत्काल कार्यान्वयन जरुरी रहेको पनि प्रधानमन्त्री ओलीले बताए ।