आर्थिक क्रान्ति द्दारा संसारभरका पर्यटकलाई संखुवासभामा भित्र्याउन सकिन्छ : राजेन्द्र कार्की

Yangle News
Yangle News
२०७९ कार्तिक १६ गते
आर्थिक क्रान्ति द्दारा  संसारभरका पर्यटकलाई संखुवासभामा भित्र्याउन सकिन्छ : राजेन्द्र कार्की

राजेन्द्र कार्की पाँचदलीय गठबन्धनबाट संखुवासभाको प्रदेश ‘क’ निर्वाचन क्षेत्रका साझा उम्मेदवार हुन्। संखुवासभामा खासगरी पाँचमध्ये कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी गठबन्धन छ। कार्कीको क्षेत्रका मतदाताले कस्तो आशा र अपेक्षा राखेका छन्? अनि उनका चुनावी एजेन्डा के छन्? यिनै विषयमा आधारित रहेर माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका कार्कीसँग नेपाली हेडलाइनले गरेको संवाद :

चुनावी अभियान कसरी अगाडि बढिरहेको छ?

अहिले चुनावी अभियान लिएर मतदाताकोमा जाँदा, पुग्दा साह्रै नयाँ र अविष्मरणीय अनुभूति भइरहेको छ। खासगरी जनताको माया, जनतासँग सामिप्य भएर चुनावका लागि मत मागिरहँदा जनताको गठबन्धनप्रतिको विश्वास, भरोसा सबैतिर पाइयो। आगामी निर्वाचनमा हामी विजयी हुन्छौं भन्ने कुरामा विश्वस्त छौं। जनताको आशा अपेक्षा पनि गठबन्धनले भोलि सरकार बनाउँछ, त्यो सरकारले केही राहत दिन्छ। सेवा सुविधा दिन्छ, विकास गर्छ भन्ने जनताको आशा र भरोसा अहिले गठबन्धनका उम्मेदवारहरूलाई नै छ। जसले गर्दा नयाँ अनुभूति भइरहेको छ।

हामी सदरमुकामबाट उत्तरी क्षेत्रका पालिकाका, वडाका जनतासँग भेटघाट गर्ने क्रममा छौं। भोटखोलाको अरुण नदी किनारमा पवित्र नदी बरुणनजिक उभिएर जनताको बीचमा वाचा, संकल्प गरेर यो क्षेत्रको विकासमा योगदान पु¥याउनेछु भन्ने संकल्प लिएका छौं। भोटखोला वास्तवमा संखुवासभा जिल्लाकै सबैभन्दा धनी, समृद्ध, सुखी पालिकाको रूपमा भोलि विकास हुने सम्भावना छ। उत्तर-दक्षिण सडक तथा नेपाल र चीनबीच जोड्ने नाका किमाथांका यहीं छ। अपर अरुण, किमाथांका अरुण, अरुण चौथो ठूल-ठूला जलविद्युतको सम्भावना, जडीबुटीको सम्भावना यहीं छ। त्यसले गर्दा एकदमै नौलो अनुभूति भएको छ र यहाँका जनताको हामीप्रतिको जुन विश्वास छ, त्यो विश्वासलाई घात गर्नु हुँदैन, धोका दिनु हुँदैन। जनतासँग मत लिइसकेपछि त्यो मतको दुरूपयोग गर्नु हुँदैन। जनतासँग एकाकार भएर, सामिप्य भएर काम गर्नुपर्छ भन्ने जनताको हौसला मिलेको छ।

भोटखोलाका जनताले के अपेक्षा गरेका रहेछन्?

यहाँका जनताको विकास र समृद्धिकै अपेक्षा छ। यहाँ ९० प्रतिशतभन्दा बढी भोटे जातिको बसोबास छ। तामाङ र गुरुङको पनि बसोबास रहेको क्षेत्र हो। अरू समुदाय नेवार र दलितको न्यून उपस्थिति छ। भोटे समुदायको भाषिक, सांस्कृतिक कुराको संरक्षणको अपेक्षा छ। भाषा, संस्कृति र परम्पराको संरक्षण गरदिनुपर्छ भन्ने छ। अधिकारको कुरामा पनि अहिले संघीयताले गर्दा समावेशिताको कुरा गर्दा राजनीतिक हिसाबले त पाएको तर आर्थिक हिसाबले जनतालाई कसरी समृद्ध बनाउने भन्ने अपेक्षा छ।

मुख्य कुरा बाटो कहिले बन्छ, अरुणमा पुल कहिले बन्छ भन्ने छ। कहिले कालोपत्रे हुन्छ र हामी खाँदवारीदेखि किमाथांकासम्म गाडीमा चढेर पुग्न सक्छौं, सक्दैनौं। यहाँ कि त तिब्बतबाट कि त खाँदवारीबाट खाद्यान्न सामग्री ल्याएर खानुपर्ने अवस्था छ। ढाकरमा, ढोकोमा बोकेर ल्याउनुपर्छ। त्यो दुःख हराउँछ कि हराउँदैन भन्ने छ। अपर अरुण कहिले बन्छ र अपर अरुणबाट फाइदा लिन पाउँछौं कि पाउँदैनौं भन्ने जिज्ञासा छ । यहाँ विदेशी आएर या केन्द्रीय सरकारले बिजुली बनाउला या विदेशी लगानीमा बन्ला तर हामीले फाइदा लिएनौं भने त्यसको अर्थ के भन्ने कुरा पनि छ। अरूले भन्दा यहाँका भोटखोलावासीले बढी लाभ लिनुपर्छ भन्ने उनीहरूको माग छ। मुख्यगरी बाटोको नै माग छ।

मकालु गाउँपालिकाका बासिन्दाको अपेक्षा के पाउनुभएको छ?

मकालु गाउँपालिकामा उत्तर-दक्षिण कोशी सडकको दुर्गति छ। सरकारले पर्याप्त बजेट विनियोजन गरेको छ। तर, त्यो कार्यान्वयन हुन समस्या छ। जस्तो- चिचिला र नुमसम्मको बाटोको समस्या छ। ठूल-ठूला गाडी कुदेकोले समस्या छ। हिजो अरुण तेश्रो आउँदा जनताले धेरै फाइदा लाभ लिन सकिन्छ भन्ने थियो। तर, त्योअनुसारको भएन। त्यहाँ रोजगारी पनि सिर्जना भएन, स्थानीय जनताले लाभ लिन पनि सकेनन्। त्यसप्रति पनि जनताको केही गुनासो हामीले सुनेका छौं। भोलि अरुण तेश्रो उत्पादन भइसकेपछि मकालुवासीले धेरैभन्दा धेरै लाभ कसरी लिने ती विषय पनि छन्।

अर्काे- हामीले के गुनासो पनि सुनेका छौं भने मकालु राष्ट्रिय निकुञ्जको कारणले त्यहाँका किसानले धेरै दुःख पाएका छन्। जस्तो- जंगली जनावरले गर्दाखेरि बालीनाली खान पाइएन, बालीको संरक्षण भएन, राज्यले क्षतिपूर्ति दिएन भन्ने खालको गुनासो आइरहेको छ। निकुञ्जको कारणले गर्दा स्थानीयवासीको केही न केही गुनासो छन् र त्यो गुनासो राज्यले सरकारले सम्बोधन गर्नुपर्छ भन्ने मागहरू छन्। त्यो सँगसँगै मकालु हिमालमा धेरै पर्यटकहरू विगतमा आउने गर्थे। आजभन्दा २० औँ वर्ष अगाडि दैनिक रूपमा सयौं विदेशी पर्यटकहरू आउने गर्थे। तर, अहिले मकालु हिमाल आरोहण गर्ने पर्यटकको संख्या घटेको छ। स्थानीयवासीको कुरा के छ भने पर्यटकहरू कसरी भित्र्याउने, पर्यटक भित्रिए भने आर्थिक स्तर उस्किन्छ, व्यापार व्यवसाय गर्न पाउँछौं भन्ने जनताको चाहना छ। पर्यटनको क्षेत्रमा राज्यले गठबन्धनको तर्फबाट विशेष ध्यान पु¥याइदिनुपर्छ भन्ने जनताको माग छ।

चिचिलाका फरक विषय के छन्?

चिचिला गाउँपालिकामा मुख्यत कोशी राजमार्गको दुःख छ। यो सडकलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सकियो भने संखुवासभाको उत्तरी क्षेत्रको सबैभन्दा ठूलो आर्थिक विकासको मेरुदण्ड बन्छ। यो सडक सञ्चालनमा आउनेबित्तिकै यो क्षेत्रको जनताको जीवनस्तरमा धेरै नै कायापलट हुने स्थिति छ। चिचिलाका बासिन्दाको अर्को कुरा के छ भने छ्याङ्कुटीबाट अरुण तेश्रोको पावरहाउससम्म मुआब्जाको कुरा छ। त्यो सडकको मुआब्जा समयमा पाइएन। धेरै संघर्ष गरियो राजनीतिक दलहरूले पनि। तर राज्यले मुआब्जा नदिएकाले जनतामा आक्रोश र नैराश्य छ। यो कुरालाई पनि सम्बोधन गर्नुपर्ने स्थिति छ। त्योसँगै चिचिला पर्यटकीय हिसाबले पनि धेरै सुन्दर ठाउँ छ। अरुण उपत्यकामा अब सञ्चालनमा आउने योगमाया आयुर्वेदिक विश्वविद्यालयका केही विभागीय कार्यालय, गतिविधि र अनुसन्धान केन्द्रहरू चिचिलामा आएदेखि यसले हामीलाई फाइदा हुने थियो भन्ने कुराहरू पनि मतदाताले उठाउनु भएको छ।

सिलिचोङ गाउँपालिकाको दुःख जिल्लामै पीडादायक छ नि होइन र?

संखुवासभाको सबैभन्दा दुर्गम पालिका भनेकै सिलिचोङ हो। सिलिचोङमा चुनावी अभियानमा मात्रै होइन, धेरैपटक पुगेका छौं। त्यहाँका जनताको दुःख र मिहिनेत बुझेका छौं। हेरिरहेकै छौं। अहिले संखुवासभाको विकासको पहिलो कार्यक्रम सिलिचोङमा हुनुपर्छ। मानेभञ्ज्याङ हेलुवाबेंशी हुँदै सिलिचोङको केन्द्र ताम्कु जाने सडकलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक बजेट राज्यले विनियोजन गर्नुपर्छ। अरुण नदीमा छिटोभन्दा छिटो पुल बनाउन माग गरिएको छ। टेन्डर लागेको छ, ठेकेदारले काम गरेको छैन, लापरवाही गरेको छ। कार्यान्वयन गर्ने निकाय पनि उदासिन देखिन्छ। र, त्यो २६ सयको पुल छिटोभन्दा छिटो सम्पन्न होस् भन्ने जनचाहना छ।

सिलिचोङको जनताको मिहेनतलाई हामीले सम्मान गर्नुपर्छ। सिलिचोङमा कुलुङ, मेवाहाङ समुदायको अत्यधिक बसोबास छ। त्यो क्षेत्रको विकासमा ध्यान दिनुपर्छ। तम्बेघाटको पुलको लागि प्रदेश सरकारले योजना समावेश गरिसकेको छ तर पर्याप्त बजेट नहुँदा टेन्डर अगाडि बढ्न सकेको छैन। तम्बेबेंशीको पुल निर्माण भयो भने यसले सिलिचोङको ४ र ५ नम्बर वडालाई जोड्नेछ।

सिलिचोङमा विद्युत प्राधिकरणले ५ वटै वडामा विद्युत विस्तार गर्ने काम शुरु भइसकेको छ। त्यसलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न दबाब दिने काम गर्न सकिन्छ। अर्काे सिलिचोङ अल्लो उत्पादनको केन्द्र हो। व्यावसायिक अल्लो उत्पादन गरेर संसारका ठूल-ठूला ठाउँहरूमा विस्तार गर्न सकियो आयआर्जनको प्रमुख स्रोत बन्न सक्छ। त्यसका लागि राज्यले अनुदान दिने, अल्लोका कच्चा पदार्थ उत्पादनमा किसानलाई प्रेरित गर्न आवश्यक छ।

मतदाताको ठूलो उपस्थिति रहेको खाँदबारीमा तपाईंका चुनावी एजेन्डा के छन्?

खाँदवारी संखुवासभाको सदरमुकाम पनि हो। जनघनत्व बढी भएको र तीव्र रूपमा शहरीकरण भइरहेको पालिका हो। विकासका थुप्रै सम्भावनाका ढोकाहरू खुल्दै गएका छन्। विशेष गरेर खाँदबारीलार्ई नमूना नगरपालिकाको रूपमा विकास गर्नुपर्छ। यो नगरपालिका ०५३ सालमा स्थापना भएको हो। खाँदबारी नगरपालिका सँगसगै स्थापना भएका नगरपालिकाहरू उपमहानगरपालिका बनिसकेको अवस्था छ। यहाँबाट बसाँइसराइ गरेर काठमाडौं, विराटनगर र तराईका जिल्ला जाने क्रमलाई रोक्नुपर्छ। किनभने यहीं सम्भावनाहरू देखाइदिनुपर्छ। एकीकृत विकासको अवधारणा अनुरूप अगाडि बढ्नुपर्छ। जस्तो- सडकको कुरा गर्दा ११ वटै वडामा कच्ची सडक पुगेको छ। त्यसलाई व्यवस्थित बनाउनुपर्छ। रिङ रोडलाई ध्यान दिनुपर्छ।

संसारकै होचो उपत्यका तुम्लिङटार एउटा ठूलो नाका र सबै दिशाको गन्तव्य स्थान हो। त्यसलाई नमूना र औद्योगिक शहरको रूपमा विकास गर्न सकिने धेरै ठूलो सम्भावना छ। त्यहाँ जग्गा खण्डीकरण भएको छ। अव्यवस्थित बसोबास छ। जसले गर्दा आगामी दिनमा शहर अस्तव्यस्त हुने देखिन्छ। दोभान छ, विमानस्थल पनि छ। मनकामना धामलाई धार्मिक र पर्यटकीय हिसाबले विकास गर्नुपर्छ। सभाखोलामा सभाताल बनाउने अवधारणा पनि छ। पूर्वसांसद हरि वैरागी दाहालले एउटा अवधारणा अगाडि सार्नुभएको छ, त्यो सपनालाई साकार बनाउनुपर्छ। सभाताल बनायौं भने फेवातालभन्दा ठूलो ताल बन्नेछ। त्यहाँ विद्युत उत्पादन, जलपर्यटनको विकास गर्न सकिन्छ। यो सबै कुरालाई ध्यानमा राखेर सभातालको सपना साकार बनाउनुपर्छ।

खाँदबारीको माथिल्लो भूभाग रमिते, छयाङ्कुटी लहरीखर्कलाई पर्यटकस्थलको रूपमा विकास गर्नु आवश्यक छ। खाँदबारी नगरपालिकाभित्र ठूल-ठूला फाँटहरू छन्। जस्तो- सभाखोला, अरुणले बनाएको फाँट छ। चेवाबेंशी संखुवासभाको सबैभन्दा बढी धान उत्पादन हुने ठाउँ हो। पाङ्माखोला, पाङ्ठाखोलाले बनाएका ठूल-ठूला फाँटहरू छन्। ती फाँटहरूमा नयाँ किसिमको आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्छ। त्यो गर्ने हो भने अहिले जति धान उत्पादन भइरहेको छ, भोलि आधुनिक र वैज्ञानिक खेती प्रणालीमा विकास गर्ने हो भने हजारौं हजार मेट्रिकटन अन्न उत्पादन गर्न सकिन्छ। पशुपालनको पनि उत्तिकै सम्भावना छ। मासु र दुग्धजन्य क्षेत्रमा व्यावसायिक उत्पादन गर्न सकिन्छ।

संखुवासभाको विकासको मुख्य आधार के हो?

संखुवासभाको विकासको मुख्य आधार भनेको जलस्रोत, पर्यटन र कृषि हो। यी तीनवटै कुरालाई हामीले एकीकृत रूपमा विकास गरेर लानुपर्छ। संखुवासभाको प्रदेश ‘क’ निर्वाचन क्षेत्र, जहाँबाट अहिले गठबन्धनबाट उम्मेदवार भएको छु, जनताको बीचमा गइरहँदा, सुनिरहँदा यो क्षेत्रको विकास छिटोभन्दा छिटो होस्। समृद्ध हुन सकुँ भन्ने जनचाहना छ। अपेक्षा र हुटहुटी पनि छ। यसमा मैले कृषि, पर्यटन र जलस्रोतलाई एकीकृत रूपमा विकास गरेर लान आवश्यक छ।

अब धेरै राजनीतिक विषय उठाइरहन पर्दैन किनभने राजनीतिक परिवर्तन भइसकेको छ। राजनीतिक अधिकारका लागि धेरै आन्दोलन र संघर्ष गर्नुपर्छ भन्ने लाग्दैन।

मुख्यगरी आर्थिक क्रान्ति गर्नुपर्छ। आर्थिक हिसाबले जनतालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने कुरा सोचेर अगाडि बढ्नुपर्छ। आर्थिक हिसाबले समृद्ध बनाउन प्रत्येक जनतालाई उत्पादनमा जोड दिनुपर्छ। रोजगारी दिन सक्नुपर्छ। समृद्धि भनेको पुल बनाउने, बाटोघाटो बनाउने मात्रै होइन, मानवीय विकास पनि हो। भौतिक विकास र मानवीय विकासको संयुक्त रूप भनेकै समृद्धि हो। त्यसैले मानवीय विकासमा पनि हामीले जोड गर्नुपर्छ।

मानवीय विकास भनेको कस्तो किसिमको शिक्षा दिने, कस्तो किसिमको संस्कृतिको विकास गर्ने, संस्कारको विकास गर्ने भन्ने कुरा हो। युवालाई कसरी उत्पादन र रोजगारीमा जोड्ने र उनीहरूलाई असल शिक्षा दिने भन्ने हो। शिक्षा, स्वास्थ्यमा विशेष लगानी गर्नुपर्छ। थुप्रै प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन छन्। मेरो जोड यो हो कि यसको जिम्मा राज्यले लिनुपर्छ। शिक्षा, स्वास्थ्यमा राज्यको पहुँच जति पुग्नुपर्ने हो त्यति पुगेको छैन। संसारभरका पर्यटकलाई संखुवासभामा भित्र्याउन सकिन्छ। त्यस्तो योजना बनाउनुपर्छ। टुटेदेउरालीदेखि मंगलबारे हुँदै गुफापोखरी र सभापोखरीसम्म पर्यटकलाई शयर गराउनु पर्छ।

सभापोखरीलाई धार्मिक र पर्यटकीय, बरुण नदीलाई सांस्कृतिक र धार्मिक हिसाबले अगाडि बढाउनुपर्छ। मकालु हिमाल, खेम्पालुङ गुफासम्म पर्यटकलाई लैजान सकिने प्रचुरता छ। उत्तर-दक्षिण सडक चीनको सीमासम्म जोडियो भने बर्सेनि लाखौं पर्यटक आउने सम्भावना छ। मित्रराष्ट्र भारत र चीनबाट मात्रै लाखौं लाख पर्यटक वार्षिक रूपमा भित्र्याउन सकिन्छ। एक वर्षमा एक लाख पर्यटक संखुवासभामा आउन सक्ने वातावरण बनायो भने यहाँको जनतालाई केही गर्न पर्दैन। यिनै पर्यटकले यहाँको जनताको जीवनमा आर्थिक परिवर्तन आउनेछ। अरुणमार्फत सञ्चालन हुने जलविद्युत परियोजनामा यहाँ जनताको लगानी सुनिश्चित गर्न आवश्यक छ।

288 views