उत्पादित च्याउको बजार मूल्य अत्यधिक घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् । च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् । डेढ महिनाअघि प्रतिकिलो दुई सय रुपैयाँ बजार मूल्य रहेको कन्य च्याउको मूल्य यतिबेला घटेर प्रतिनकिलो ६० रुपैयाँ पुगेको छ ।
पोखरा बजारमा बढी मात्रामा उपभोक्ताले उपभोग गर्ने च्याउ कन्य नै हो । चिसो मौसममा च्याउको उत्पादन पनि बढी हुने गर्छ । किसानले उतपादन गरेको कन्य च्याउ पोखरा बजारमा दैनिक चार हजार किलो बिक्री हुने गर्छ । कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसानको सङ्ख्या २० र बाहिरबाट पनि केहीमात्रामा च्याउ आयात हुने गरेको छ ।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले किसानको उत्पादन गरेको च्याउ र सिमीको मूल्य यतिबेला अत्यधिक मात्रामा घटेपछि किसानको लागत मूल्यसमेत उठ्न नसकेको बताए ।
पोखरा–१९ लामाचौरका च्याउ उत्पादक किसान सन्दीप क्षेत्रीले एक किलो च्याउ उत्पादन गर्न लागत मूल्य एक सय ३० रुपैयाँ लाग्ने तर प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्नुपर्दा लगानीनै डुब्ने अवस्थामा पुगेको बताए । १४ लाखको लागतमा छ रोपनी जग्गामा उत्पादन गरेको च्याउले बजार नपाउँदा आफूले ठूलो नोक्सानी व्यहोर्नुपरेको उनले गुनासो गरे ।
महानगरपालिकामा सूचीकृत किसानले उत्पादन गरेको च्याउको न्यूनतम समर्थन मूल्य तोकिदिएका कारण च्याउ किसान विस्थापित नै हुनुपर्ने अवस्थामा भने छैन । महानगरले पोखरामा च्याउको समर्थन मूल्य एक सय ३० रुपैयाँ तोकेको छ । गत वर्ष महानगरले च्याउको न्यूनतम समर्थन मूल्य एक सय ५० रुपैयाँ तोकेको थियो । किसानले मूल्य घटेकोबारेमा महानगरलाई पूर्वजानकारी गराए महानगरले अनुगमन गरी बेचेको रकमका आधारमा प्रमाण सही भए तुरुन्तै रकम उपलब्ध गराउँने समेत महानगरका कृषि महाशाखा प्रमुख कडरियाले बताए ।