संघीयय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज आज बस्दैछ ।
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे संघीय संसद् भवनमा बस्ने तय भएको छ । आज बस्ने प्रतिनिधि सभा बैठकका लागि दुईवटा मुख्य कार्यसूची तय गरिएका छन् ।
बैठकमा पहिलो कार्यसूचीका रूपमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसैगरी बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)सम्बन्धी प्रस्तावमाथि प्रारम्भिक छलफल शुरू हुनेछ ।
सरकारले बजेट ल्याउनुपूर्व सदनमा प्रस्तुत गरेको उक्त प्रस्तावमाथि सांसदहरूले आफ्ना धारणा र सुझावहरू राख्ने क्रम आजैदेखि शुरू हुने संसद् सचिवालयले जनाएको छ ।