जापानलाई उछिन्दै चीन बन्यो, विश्वमै बढी कार निर्यात गर्ने देश

Yangle News
Yangle News
२०८० जेष्ठ ५ गते
जापानलाई उछिन्दै चीन बन्यो, विश्वमै बढी कार निर्यात गर्ने देश

 

चीनले आफू विश्वकै सबैभन्दा बढी कार निर्यातकर्ता भएको दाबी गरेको छ । यस वर्षको पहिलो त्रैमासमा जापानलाई उछिन्दै चीन विश्वकै धेरै कार निर्यातक देश बनेको हो । गत हप्ता सार्वजनिक एक तथ्यांकअनुसार चीनले पहिलो तीन महिनामा १० लाख ७ हजार वटा कार निर्यात गरेको हो ।

सन् २०२२ को पहिलो ३ महिनाको तुलनामा चीनले ५८ प्रतिशत बढी कार निर्यात गरेको छ ।

जापानले भने यस आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार १ सय ८५ कार निर्यात गरेको छ । यो संख्या गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो ।

विद्युतीय कारको लोकप्रियता र रुसमा कारको माग बढेको चीनको निर्यात बढेको बीबीसीले जनाएको छ । गत वर्ष मात्र चीन जर्मनीलाई उछिन्दै कार निर्यातमा विश्वको दोस्रो स्थानमा बनाएको थियो ।

भन्सार प्रशासनको तथ्यांकअनुसार चीनले सन् २०२२ मा ३२ लाख गाडी निर्यात गरेको थियो । जर्मनीले भने २६ लाख गाडी निर्यात गरेको थियो ।

पछिल्लो समय विश्वभर विद्युतीय कारको माग बढिरहेको छ जसको प्रत्यक्ष फाइदा चिनियाँ बजारलाई पुगेको छ ।

टेस्लाको चिनियाँ युनिट एसएआईसी चीनको सबैभन्दा ठूलो ‘न्यु एनर्जी भेहिकल कार’ निर्यातक हो ।

टेस्लाको सांघाईमा ठूलो विद्युतीय कार प्लान्ट रहेको छ । यहाँबाट जापान र युरोपेली बजारमा कार निर्यात हुँदै आएको छ ।

 

327 views