अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवा हुने भएको छ । एन्फाका प्रवक्ता सुरेश साहका अनुसार, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग एन्फाका पदाधिकारीको छलफलपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।
आफ्नो निर्देशन विपरीत ‘अर्ली इलेक्सन’मा गएको भन्दै गत चैत ११ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको वर्तमान कार्यसमितिलाई निलम्बन गरेको थियो । विधानअनुरूप तहगत रूपमा निर्वाचन गर्न पटक-पटक दिइएको निर्देशनलाई अटेर गरेको र सोधेको स्पष्टीकरणको जवाफ पनि चित्तबुझ्दो नभएको कारण देखाउँदै राखेपको कार्यकारी समिति बैठकले एन्फा कार्यसमितिलाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।
निलम्बन विनाशर्त फुकुवा भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताएका छन् । ‘नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको प्रतिबन्ध फुकुवा गरिदिएकोमा नेपाल सरकार, माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलज्यू, प्रमुख सल्लाहकार सिद्दी ब्यन्जन्कारज्यू, सल्लाहकार राजु सिंहज्यू, सदस्यसचिव राम चरित्र मेहताज्यू लगायत यस कार्यमा संलग्न सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाली फुटबलको विकासका लागि यो अत्यन्त सराहनीय र ऐतिहासिक निर्णय हो,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
निलम्बनमा परेपछि एन्फाले चैत १३ गते झापामा हुने भनिएको आफ्नो निर्वाचन प्रक्रिया पनि रोकेको थियो । निर्वाचनमा सहभागी हुन विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधि आइसकेको अवस्थामा एन्फा निर्वाचन रोकिएको एन्फाले जनाएको थियो ।
एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ साल असार ६ गते सकिँदैछ ।