मधेश प्रदेशमा धान रोपाइँ ८२ प्रतिशत सकिएको छ । गएको वर्ष यति बेलासम्म रोपाइँ सम्पन्न भइसकेकोमा यस वर्ष अहिलेसम्म ८२ प्रतिशत रोपाइँ सकिएको मधेश प्रदेशको कृषि विकास निर्देशनालयका वरिष्ठ बागवानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिए ।
मधेशमा धान रोपाइँ हुने कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये २ लाख ८५ हजार २ सय ३४ हेक्टरमा रोपाइँ भएको हो । यो रोपाइँ साउन दोस्रो हप्ताको तुलनामा धेरै हो । साउन दोस्रो हप्तासम्म ६० प्रतिशत रोपाइँ पनि भएको थिएन । वर्षा भएर सिँचाइ उपलब्ध भएसँगै रोपाइँमा पनि सुधार भएको हो ।
कृषि विकास निर्देशनालयका अनुसार सबैभन्दा धेरै बारामा ९५ प्रतिशत धान रोपाइँ भएको छ । सिरहा, सप्तरी र धनुषामा ७० प्रतिशत रोपाइँ भएको छ । सर्लाहीमा ६५ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ६१ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ ।