पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा र निवर्तमान सदस्यसचिव प्रदीपकुमार ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा कोषका तत्कालीन सदस्य सचिव ढकाल तत्कालीन कोषाध्यक्ष तथा हाल सदस्य सचिव थापाविरुद्ध एक करोड १७ लाखभन्दा बढी रकम भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकाल र थापाले जलहरी राख्ने क्रममा हिनामिना गरेको एक किलो ४९१.७१८ ग्राम सुन बापतको एक करोड १७ लाख एक हजार ७८१ रुपियाँ ८५ पैसा भ्रष्टाचार गरेको ठहर गरिएको छ ।
त्यस्तै कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।