मन्त्रिपरिषद् विस्तारपछि आज प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । बैठकले केही महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।
बैठकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको सम्बन्धमा अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
मन्त्री अर्यालका अनुसार आयोग गठन गर्ने विषयमा सैद्धान्तिक सहमति भइसकेको छ भने यसका संयोजक र यसमा रहने सदस्यबारे अर्को बैठकले निर्णय गर्नेछ । त्यस्तै, बैठकले आउँदो असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । उक्त दिन सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
मन्त्रिपरिषद् बैठकले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सरकारले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने, शव व्यवस्थापनका लागि निःशुल्क गाडी र दुर्गम क्षेत्रमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यस्तै सरकारले भदौ २३ र २४ भएको आन्दोलनमा ज्यान गुमाउने व्यक्तिहरूको स्मृतिमा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय गरेको छ । बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पेश गरेको सबै प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ ।