सञ्चारिका समूहले राष्ट्रपतिलाई बुझायो १० बुँदे मागपत्र

Yangle News
Yangle News
२०८१ चैत्र २६ गते
सञ्चारिका समूहले राष्ट्रपतिलाई बुझायो १० बुँदे मागपत्र

सञ्चारिका समूह नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो १० बुँदे मागपत्र बुझाएको छ । सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा नेतृत्वको एक टोलीले राष्ट्रपति पौडेललाई शीतलनिवासमा भेटी पत्रकार महिलाका साझा मुद्दा समेटिएको मागपत्र पेस गरेको केन्द्रीय सदस्य साजना तामाङले जानकारी दिइन् ।

राष्ट्रपतिलाई बुझाइएको मागपत्रमा मिडियामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण हुनुपर्ने विषयलाई जोड दिइएको छ । सञ्चारिकाको मागपत्र बुझिसकेपछि राष्ट्रपति पौडेलले भने, ‘सञ्चारिका समूहको नाम मैले निकै सुनिरहेको हो । तपाईँहरूले जिम्मेवार भएर राम्रो काम गरिरहनुभएको छ । कार्यकारी भूमिकामा नभए पनि तपाईँहरूको मुद्दालाई प्राथमिकतामा राखेर काम गर्न ताकेता गर्नेछु । भेट्न आउनुभयो, धन्यवाद ।’

सञ्चारिका समूह २०५२ सालमा स्थापना भएको देशभरका पत्रकार महिलाको साझा संस्था हो । ७ प्रदेश र २७ वटा जिल्लामा यसका शाखाहरु रहेका छन् ।

सञ्चारिकाको मागहरु

१. सञ्चार माध्यममा लैंगिकमैत्री वातावरण स्थापना गरियोस् ।

२. समान कामको समान ज्याला निर्धारण गरियोस् ।

३. पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था गरियोस् ।

४. पत्रकार महिलाको सञ्चार माध्यमबाट पलायन हुने क्रम रोक्न, पेसागत रूपमा स्थायित्व हुने गरी रोजगारीको सुनिश्चितता गरियोस् ।

५. सरकारी नियुक्तिहरूमा पत्रकार महिलालाई प्राथमिकता दिइयोस् ।

६. पत्रकारितामा आउन चाहने नयाँ पुस्ताका महिलालाई प्रोत्साहन गर्नका लागि उत्साहजनक वातावरणको सृजना गरियोस् ।

७. कार्यस्थलमा हुने हिंसा तथा समाचार लेखेवापत आउने धम्की तथा हुन सक्ने जोखिम व्यवस्थापनका लागि उजुरी गर्ने संयन्त्र र कारवाही गर्ने निकाय खडा गरियोस् ।

८. पत्रकार महिलाका विशेष अवस्थाहरू ९जस्तैः गर्भवती, सुत्केरी० लाई सम्बोधन गर्दै तलबी बिदाको व्यवस्था गरियोस् ।

९. समाचार संकलन तथा सम्प्रेषणका क्रममा हुन सक्ने दुर्घटनाहरूमा पत्रकार महिलालाई सहज उपचारका लागि स्वास्थ्य बिमाको व्यवस्था गरियोस् ।

१०. मिडिया हाउसहरुमा पत्रकार महिलाको करार नियुक्तिको अवधि छोट्याई यसको अनुगमन गरियोस् ।

166 views