कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । दुवै टिम तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । यसअघि दुवै देशले समान दुई-दुई पटक विश्वकप उपाधि जितेका छन् ।
डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेर विश्वकपको तेस्रो उपाधि जित्ने दौडमा रहेको छ भने अर्जेन्टिना पनि तेस्रो पटक विश्वकप उपाधि जित्ने तयारीमा रहेको छ ।
यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।