यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारले लियो नियन्त्रणमा

Yangle News
Yangle News
२०८२ माघ १३ गते
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारले लियो नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

सवारी लाइसेन्स तयार पारिदिने भन्दै घुस लिएको आरोपमा अख्तियारले २७ जनाको मोबाइल नियन्त्रणमा लिएको हो । यातायात कार्यालय, चाबहिलका प्रमुख पेशकुमार पोखरेलसहित १७ जना कर्मचारीको २४ वटा मोबाइल अख्तियारले नियन्त्रणमा लिएको बताएको छ ।

त्यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरीको मोबाइलमा पनि नियन्त्रणमा लिएको छ । उनीहरू यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको परीक्षामा खटिएका थिए । नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिका प्रबन्धक बालकृष्ण सिंहसहित ७ जनाको ९ वटा मोबाइल अख्तियारले नियन्त्रणमा लिएको छ ।

उनीहरूले लिखित परीक्षामा फेल भएका व्यक्तिलाई तीन महिना नपुग्दै पुनः लिखित परीक्षामा सहभागी गराएको आरोप छ । त्यसरी परीक्षामा सहभागी भएका विद्यार्थीको उत्तरपुस्तिका लगायतका कागजात पनि अख्यितारले नियन्त्रणमा लिएको हो ।