नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । यो जितसँग सुदूरपश्चिम चार अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।
आज भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १९४ रनको विजयी लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरका ८ विकेट गुमाउँदै १७५ मात्र रन बनायो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो ।
सुदूरपश्चिम रोयल्सका लागि ओपनर जोस ब्राउनले उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए । उनले ६८ रन बनाए । यस क्रममा उनले केवल ३५ बलको सामना गरी पाँच छक्का र ६ चौका प्रहार गरे ।
जारी सिजनको एनपीएलमा सुदूरपश्चिम रोयल्सका लागि अर्धशतक बनाउने उनी दोस्रो खेलाडी हुन् । यसअघि, काठमाण्डू गोर्खाजविरुद्ध सुदूरपश्चिमका हरमित सिंहले २० बलमा ५३ रन बनाएका थिए ।
पोखराविरुद्ध अर्का ओपनर विनोद भण्डारीले पनि ४३ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले ४२ बलमा ६ चौका प्रहार गरे ।
दुवै ओपनरले टोलीलाई उत्कृष्ट शुरूआत दिँदै १ सय आठ रनको साझेदारी गरेका थिए । ११औं ओभरको चौथो बलमा ब्राउन आउट भएपछि यी दुईबीचको साझेदारी तोडिएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका क्रिस लिनले पनि टोलीका लागि ३१ रनको योगदान गरे । अनुभवी ब्याट्सम्यान लिनले आक्रामक ब्याटिङ गर्दै केवल १३ बलमा दुई छक्का र चार चौका प्रहार गरे ।
कप्तान दीपेन्द्रसिंह ऐरी भने १५ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले १० बलमा एक छक्का र एक चौका प्रहार गरेका थिए । हरमित सिंहले ६ बलमा चार रन बटुले । स्कट कुग्गेलेइजनले ६ बलमा आठ रन जोडे । इशान पाण्डे ६ र नरेन साउद चार रनमा अविजित रहे । सुदूरपश्चिमले अतिरिक्त रुपमा १४ रन पायो ।
पोखरा एभेन्जर्सका बलर जेम्स निसमले तीन विकेट लिए । डान डाउथवेटले दुई/दुई विकेट हात पारे । आकाश चन्दले पनि दुई विकेट कुम्ल्याए ।
दोस्रो सिजनको एनपीएलमा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेले हुन् । यसअघि सुदूरपश्चिमले काठमाडौं गोर्खाजविरुद्ध २९ रनको जित हासिल गरेको थियो । पोखराको भने यो लगातार दोस्रो हार हो । पोखराले पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनको पराजय बेहोरेको थियो ।
प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन् । दिनको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्ससँग र दोस्रो खेलमा विराटनगर किंग्सले काठमाण्डू गोर्खाजसँग खेल्ने तालिका छ ।