‘फेक रेस्क्यू’ प्रकरणमा थप एक चिकित्सक पक्राउ

Yangle News
Yangle News
२०८२ माघ २५ गते
‘फेक रेस्क्यू’ प्रकरणमा थप एक चिकित्सक पक्राउ

नेपालको हिमाली पर्यटन क्षेत्रमा लामो समयदेखि चल्दै आएको फेक रेस्क्यू प्रकरणले फेरि एक पटक देशको छवि संकटमा पारेको छ । हालै काठमाडौं जिल्ला अदालतको अनुमति लिएर सिद्धि इन्टरनेसनल हस्पिटल प्रालिका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरिएको घटनाले यस घोटालाको गहिरो जालो अझ स्पष्ट भएको छ ।

यस प्रकरणमा रेस्क्यू कम्पनीहरूले बीमा रकम दावी गर्ने उद्देश्यले यात्रु उद्धारको नाटक र अस्पताल उपचारको किर्ते कागजात उत्पादन गरेको देखिने सीआईबीले जनाएको छ । ‘प्यासेन्जर एन्ड कार्गो म्यानिफेस्ट’मा विवरण हेरफेर गरी बिल तयार गर्ने, अस्पतालमा उपचार भएको देखाउने रिपोर्ट बनाउने, अनि बीमा कम्पनीबाट रकम असुल्ने कार्य हुने गरेको खुलेको छ ।

यसले नेपाललाई पर्यटकका लागि ‘नो-गो डेस्टिनेशन’ बनाउने चेतावनीसम्म दिइएको छ, जसले पर्यटन उद्योगलाई गम्भीर संकटतर्फ धकेल्ने खतरा छ । बीमा कम्पनीहरूले नेपालमा आउने पर्यटकलाई कभर दिन हिच्किचाउने सम्भावना बढ्दै गएको छ ।

सीआईबीले केही हप्ता अघि पत्रकार सम्मेलन गरेर यसअघि माउन्टेन रेस्क्युका सञ्चालक जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया तथा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसी फेक रेस्क्यू (नक्कली उद्धार) आरोपमा पक्राउ गरेको थियो । उनीहरूले एउटै नियमित वा चार्टर्डबाट पाँच जनासम्म ल्याई फरक-फरक उद्धार गरेको बताएर करोडौंको बीमा दाबी गरेको देखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सार्वजनिक गरेको थियो ।

त्यस्तै एउटै स्थानबाट चार्टडमार्फत आएका धेरै पर्यटकलाई छुट्टाछुटै स्थानबाट फरक-फरक समयमा उद्धार गरेको भन्दै फाइदा उठाएको देखिएको समेत सीआईबीले बताएको छ । ‘फेक रेस्क्यू’मा संलग्नमध्ये बीमा कम्पनीमा दाबी गर्नेहरूलाई समेत अहिले कारबाहीको दायरामा ल्याइएको छ ।

पक्राउ परेका डा. तिमिल्सिनासहित यसअघि संलग्न अन्य कम्पनी र अस्पतालहरूमा अनुसन्धान जारी छ । मुलुकी अपराध संहिता २०७४ को दफा ५१ अनुसार राष्ट्रहित प्रतिकूल काम गरेको अभियोगमा कारबाही अघि बढाइएको छ ।

यो घटनाले नेपाल सरकारको पर्यटन प्रवर्द्धन अभियानलाई कमजोर बनाउँदै मात्र होइन, राष्ट्रिय स्वाभिमान र गरिमामा पनि गम्भीर प्रश्न उठाएको छ ।