कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ नेपालीको मृत्यु

Yangle News
Yangle News
२०८२ साउन ३० गते
कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ नेपालीको मृत्यु

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या नौ पुगेको छ । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले पछिल्लो तीन दिनमा नौ नेपालीको मृत्यु पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार विषाक्त मदिरा सेवन गरी अस्वस्थ भएका ३० जनाभन्दा बढी नेपाली स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको श्रम सहचरी आचार्यले जानकारी दिए ।

शनिबारयता विषाक्त मदिरा सेवन गरी अस्वस्थ भएका १६० जना आप्रवासीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये अधिकांश दक्षिण एसियाली देशका नागरिक रहेको बताइएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, विषाक्त मदिरा सेवनबाट २३ जनाको मृत्यु भइसकेको छ ।

उपचाररतमध्ये ३१ जनालाई भेन्टिलेटरमा राखिएको छ भने २१ जनाले आँखाको ज्योति गुमाएका छन् । ५१ जना बिरामीको आपत्‌कालीन मिर्गौला डायलिसिस गरिएको छ ।

कुवेतमा मादक पदार्थ सेवन गर्न प्रतिबन्ध छ । तर, केही गिरोहले लुकिछिपी मादक पदार्थ उत्पादन गरी अवैध तरिकाले बिक्री गर्ने गरेका छन् । हाल कुवेतमा एक लाख ६० हजार नेपाली कार्यरत छन् ।