प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले सरकार र सभामुखले विपक्षी दलप्रति गैरसंवैधानिक कार्य गरेको भन्दै गम्भीर छलफल गरेका छन् ।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकबीच प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्को उपेक्षा गरेको तथा सभामुख डीपी अर्यालले दलीय भूमिका निर्वाह गरेकाले गम्भीर छलफल गरेको ऐन महरले जानकारी दिए ।
छलफलमा एमालेका प्रमुख सचेतक महरसहित कांग्रेसका प्रमुख सचेतक बासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र प्रमुख सचेतक खुस्बु ओली सहभागी थिए । बैठकमा प्रधानमन्त्रीद्वारा संसद्को अवमूल्यन गरिएको, गैरसंवैधानिक गतिविधि बढ्दै गएको तथा सरकारले संसदीय मूल्य–मान्यता विपरीत विपक्षी दलको आवाज दबाउन खोजेको विषयमा गम्भीर समीक्षा गरिएको एमालेका प्रमुख सचेतक महरले जानकारी दिए । सभामुख अर्यालले निष्पक्ष भूमिका निर्वाह गर्न नसकी दलीय व्यवहार देखाएको आरोप पनि विपक्षी दलहरूले लगाएका छन् ।
छलफलपछि विपक्षी दलहरूले संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना तथा लोकतन्त्रको रक्षाका लागि संसद्भित्र आपसी सहकार्य र संयुक्त आवाजलाई आगामी दिनमा समेत निरन्तरता दिने साझा निष्कर्ष निकालेका छन् । पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजेपनि सभामुखले साथ नदिएको विपक्षी दलको टिप्पणी छ ।