‘तानाशाह युनुस सरकारको निर्णय घृणासाथ अस्वीकार गर्दछौं’

Yangle News
Yangle News
२०८२ बैशाख २९ गते
‘तानाशाह युनुस सरकारको निर्णय घृणासाथ अस्वीकार गर्दछौं’

बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाएको छ । सरकारले देशको आतंकवाद विरोधी ऐनअन्तर्गत राष्ट्रिय सुरक्षा अवस्थाको आधारमा अवामी लिगका सबै गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो ।

विद्यार्थीको नेतृत्वमा उभिएको राष्ट्रिय नागरिक पार्टीले गरेको सडक प्रदर्शनपछि सरकारको घोषणा आएको हो । नागरिक पार्टी गत वर्षको विद्रोहपछि उदाएको हो, जसले हासिनालाई पदच्युत गराएका थियो ।

जमात-ए-इस्लामीलगायत धार्मिक र दक्षिणपन्थी दल पनि प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले पनि अवामी लिगलाई आतंकवादी संगठन घोषणा गर्न माग गरेका थिए । सरकारले अन्तर्राष्ट्रिय अपराध अदालतमा परेको अवामी लिग र यसको नेतृत्वको मुद्दा सामाधान नभएसम्म प्रतिबन्ध लागु रहने बताएको छ ।

सरकारले आईसीटी ऐनमा संशोधन गरी ट्रिब्युनलले व्यक्तिमात्र होइन, राजनीतिक दल र संस्थालाई पनि मुद्दा चलाउन सक्ने व्यवस्था गरेको छ । यसले अवामी लिगलाई पार्टीको सत्ता कार्यकालमा गरेको अपराधका लागि अभियोग चलाउने मार्ग प्रशस्त गरेको छ ।

यसैबीच, भारतको टाइम्स अफ इन्डियाले जनाएअनुसार पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगले प्रतिबन्ध लगाउने निर्णयप्रति आपत्ति जनाएको छ । उसले प्रतिबन्धलाई अस्वीकार गरेको छ । साथै, प्रतिबन्धको बाबजुद आफ्नो गतिविधि जारी राख्ने बताएको छ ।

अवामी लिगले भनेको छ, ‘हामीले फासिस्ट तानाशाह युनुस सरकारको यो निर्णय घृणासाथ अस्वीकार र विरोध गर्दछौं । अवामी लिगले फासिस्ट युनुस सरकारको निर्णयलाई अस्वीकार गर्दै उपयुक्त बाटोमार्फत आफ्नो गतिविधि अगाडि बढाउने छ ।’