तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षण गर्दै स्थानीय तह

Yangle News
Yangle News
२०८१ असार १७ गते
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षण गर्दै स्थानीय तह

 

पर्यटक भित्र्याउन संस्कृतिको प्रबर्धन र संरक्षण गर्न बागलुङ नगरपालिका लागि परेको छ । बागलुङमा तीन सय वर्ष पुराना हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ । यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङ बजारसम्म ल्याउनका लागि बजारभित्र रहेका पुराना बजार, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रचार प्रसार गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

बागलुङबजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान नाच, महिला मगर बाजा, पुरानो बजारका रुपमा रहेको देउराली चोक, कम्पुटोल र किनरा टोललाई संरक्षण गर्ने गरी नगरपालिकाको नीति छ ।

बागलुङ नगरभित्र मात्रै नाचिने हनुमान नाचलाई सो नगरपालिकाले विश्व सम्पदामा सूचीकरण गर्न पहल गर्ने जनाएको छ । नगरपालिकाले हनुमान नाचलाई विश्व सम्पदामा सूचीकरणको आवश्यक काम अगाडि बढाइने जनाउँदै संरक्षणका लागि बजेट विनियोजन गरेको नगर उपप्रमुख राजु खड्काले बताए ।

तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाच बागलुङमा सुरक्षित छ । पछिल्लो समय पुस्तान्तरण नहुँदा हराउन सक्ने चिन्ता स्थानीयमा छ ।

पर्यटन प्रवद्र्धनका लागि उक्त नाचको संरक्षण र पुस्तान्तरण गर्न आवश्यक भएकाले नगरपालिकाले चासो दिएको हो । हनुमान नाँच संरक्षण, मगर बाजा संरक्षण र मगर बाजा प्रशिक्षण, पुराना घर संरक्षणमा नगरपालिकाले बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

यो नाचमा मानिसले बाँदरको भेष बनाएर नाचिने भएकाले हनुमान नाच भनिएको जनाइएको छ । एकै पटक १४ जोडीले नाच्ने भएकाले उक्त नाच निकै खर्चिलो छ । प्रसिद्ध बागलुङ कालिका मन्दिरमा हरेक वर्ष १० लाखभन्दा बढी भक्तजन आउने गरेका छन् ।