संखुवासभाका सफल ३१ व्यक्तिहरु समेटिएको पुस्तक सार्वजनिक

Yangle News
Yangle News
२०७९ माघ ८ गते
संखुवासभाका सफल ३१ व्यक्तिहरु समेटिएको पुस्तक सार्वजनिक

‘संखुवासभाका सफल व्यक्तित्वहरु’ नामक पुस्तक सार्वजनिक भएको छ । संखुवासभा जिल्लामा जन्मिएर विभिन्न क्षेत्रमा उच्च स्थानमा पुगेका सफल ३१ व्यक्तिहरुको जीवनी, अनुभव र दृष्टिकोण समेटेर उक्त पुस्तक बजारमा ल्याइएको हो ।

Yangle News

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा शनिवार राजधानीमा संयुक्तरुपमा पुस्तकको लोकापर्ण गरिएको छ । बागमती प्रदेश प्रमुख शर्माले नेपालको बिकासमा पहिलो स्थान र भूमिका निर्वाह गर्ने व्यक्तिहरुको छुट्टा छुट्टै अनुभव र दक्षता एउटै पुस्तकमा समेटिएकाले पुस्तक पठनीय र ऐतिहाँसिक हुने बताउनुभयो । उहाँले भन्नुभयो –‘पुस्तकमा समेटिनु भएका व्यक्तिहरु संखुवासभाको मात्र नभई सिंगो नेपाल र अन्तर्राष्ट्रिय छबी बनाउन सफल व्यक्तिहरु हुनुहुन्छ, उहाँहरुको ज्ञान, अनुभव, अनुभुति र दृष्टिकोण नयाँ पुस्ताकालागि पनि मार्गदर्शक अवश्य बन्नेछ ।’

पाठक धारा टोल विकास संस्था संखुवासभाले प्रकाशन गरेको पुस्तकमा बिभिन्न बिद्यामा उच्चता हासिल गरेका संखुवासभाका ३१ जना व्यक्तिहरुको जीवनी र दृष्टिकोण समेटिएको छ । नेपाल सरकारका उर्जा सचिव दिनेश घिमिरे, अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा विकासविद् डा. अर्जुन कार्की, उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगपति कुशकुमार जोशी, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ,संस्कृतिविद् प्राध्यापक रमेश ढुंगेलको अनुभव र जीवनी पुस्तकमा समेटिएको छ ।

त्यसैगरी सुशासनबिज्ञ डा. हिरामणी घिमिरे, पूर्व सचिव शारदाप्रसाद त्रिताल, मानव अधिकारकर्मी कृष्ण पहाडी, नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सञ्चालक निरीक्षक क्याप्टेन डिआर निरौला, सांसद दिपक खड्का, पूर्व सांसद राजेन्द्र गौतम, प्रदेशसभा सदस्य राजेन्द्र कार्की, उद्योगपति कृष्णगोपाल श्रेष्ठ, र्कीतिमानी आरोहि मिङ्मा शेर्पा, छिरीङ पान्दे भोटे, थानेश्वर गुराँगाईको अनुभव र अनुभुति पुस्तका समेटिएको छ ।

पुस्तकमा युवा व्यवसायी सुजनकुमार श्रेष्ठ, इपानका पूर्व अध्यक्ष हाईड्रोविद् शैलन्द्र गुराँगाई, प्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरी ,बागमती सफाई अभियान्ता डा.राजु अधिकारी, खुला दिशामुक्त अभियानका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठ, शिक्षाविद् तथा उद्योगपति तेजबहादुर ढकाल, जलबिद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, सुशासनविद् हेमराज पौडेल, कर्मचारी सञ्चयकोषका पूर्व प्रशासकीय प्रमुख तुलसी गौतम, इञ्जिनीयर अध्ययन संस्थानको पूर्व सहायक डिन प्राध्यापक तेजराज थापा, सर्वोच्च अदालतका पूर्व न्यायाधिश राजेन्द्र भण्डारी , न्यायाधिश हरि फुयाँल, हेल्पिङ हेण्डसका प्रमुख डा. गुप्तबहादुर श्रेष्ठ, प्रशासक अनिता निरौलाका अनुभव र अनुभूति रहेका छन् ।

संखुवासभाका सांसद दिपक खड्काले पुस्तकमा सम्मिलित व्यक्तीहरु नेपालको समग्र विकास र प्रशासनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । भीमबहादुर कट्टेल संयोजक रहेको सम्पादक मण्डलले सम्पादन गरेको पुस्तकले समृद्ध संखुवासभा मात्र नभई देशलाई नै समृद्धितर्फ डोहो¥याउन सक्ने व्यक्तिहरुको आलेख छ ।

1,399 views