आन्दोलनमा सहभागी हुन गृहजिल्ला संखुवासभाबाट काठमाडौं आएका शिक्षकहरुसँग उर्जामन्त्री दिपक खड्काले भेट गरेका छन् ।
आज सिंचाइ, जलश्रोत तथा उर्जा मन्त्रालयमा शिक्षकहरु र मन्त्रीबीच भेट भएको हो । सो क्रममा मन्त्री खड्काले शिक्षकका मागप्रति सरकार गम्भीर रहेको बताएका छन् ।
शिक्षकको मागका सम्बन्धमा सरकारले सरोकारवालासँग छलफल गरी सम्बोधन गर्ने मन्त्री खड्काले बताए । उनले भने, ‘शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरुको पनि सुझाव र सल्लाह आवश्यक छ । शिक्षामन्त्रीसँग यो विषयमा छलफल गर्छु । मन्त्रिपरिषदमा पनि छलफलका लागि एजेन्डा बनाउँछु,’ उनले भने । उनले अहिले विभिन्न ऐन निर्माणका लागि छलफलकै क्रममा रहेको उल्लेख गर्दै सरकार समयसापेक्ष ऐन निर्माणमा लागेको जानकारी गराए ।
नेपाल शिक्षक महासंघ संखुवासभाका अध्यक्ष शेरबहादुर पुरीले शिक्षकका २४ बुँदे मागका सम्बन्धमा पहलका लागि मन्त्री खड्कासमक्ष आग्रह गरे । नेपाल शिक्षक संघ सङ्खुवासभाका संघीय प्रतिनिधि दिव्यराज अधिकारीले यो शिक्षकको मात्रै आन्दोलन नभई शैक्षिक आन्दोलन भएको बताए ।