दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल पराजित भएको छ । श्रीलंकामा जारी प्रतियोगिताअन्तर्गत आज भएको दोश्रो सेमिफाइनलमा नेपाललाई भारतले स्तब्ध तुल्याएको हो ।
नेपालमाथि ३-० को सहज जित हासिल गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न खेलमा भारतका लागि गुनलेइबा वाङखेरियाक्पाम, अजलान शाह र डायमन्ड सिंह थोकचोमले गोल गरे । सबै गोल दोस्रो हाफमा भएका हुन् । भारतले अब उपाधिका लागि शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
आजै भएको पहिलो सेमिफाइनलमा पाकिस्तानलाई २-० ले दुई पटकको उपाधि विजेता तथा दुईपटकको उपविजेता रहेको बंगलादेशले फाइनलमा स्थान बनाइसकेको छ । बंगलादेशका लागि कप्तान तथा मिडफिल्डर नाजमुल हुदा फैजल र फरवार्ड मोहम्मद ओपु रहमानले गोल गरे ।
यसअघि समूह चरणमा पनि बंगलादेशले शानदार प्रदर्शन गरेको थियो । उसले नेपाल र आयोजक श्रीलंकालाई समान ४-० को अन्तरले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।