‘नाइमा एक्स्पो-२०२५’को प्रदर्शन अवधि एक दिन थप भएको छ । पाँच दिन खुल्ने भनिएको एक्स्पोमा अवलोकनकर्ताहरूको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि ‘नाइमा’ले प्रदर्शन अवधि एक दिन थप गरेको हो ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स् एन्ड म्यानुफ्याक्चरर्स् एसोसिएसन (नाइमा)द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५’ मा अपेक्षा गरेभन्दा बढी दर्शकको आगमनले प्रर्दशनीस्थलमा रौनक छाएको छ । आफूलाई मनपर्ने सवारीसाधनहरू अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने, साथै खरिद गर्नेहरूको घुइँचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध सञ्चालन भएको थियो । अरु दिन कार्यालयमा व्यस्त रहने व्यक्तिहरूले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका थिए ।
एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधरणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारीहरू, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरू, व्यापारीलगायत व्यक्तिहरूले उपस्थिति जनाएका छन् । प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र शनिबार २१ हजार ५ सय अवलोकनकर्ताहरूले नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२५ मा सहभागिता जनाएका छन् ।
स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा अवलोकनकर्ताहरूको अपार माया र समर्थन प्राप्त गर्न सफल नाइमाले आगामी दिनहरूमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठूलो योगदान पुर्याउन प्रतिबद्ध जनाएको छ ।
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन् । २१-२५ साउनसम्म सञ्चालन हुने तय भएको प्रदर्शनी अब २६ साउनसम्म खुला रहनेछ ।