सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । ईपीएस कोरिया शाखाका अनुसार उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाइएको हो ।
भाषा परीक्षामा ५ हजार ३०० हुने उत्तीर्ण हुने आँकलन गरेर आवेदन खुला गरिएको शाखाले जनाएको छ । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण गराउने तयारी छ । तर, कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ ।
अर्को सूचना प्रकाशित गरेर परीक्षाको तालिकाबारे जानकारी गराउने शाखाले जनाएको छ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने साथै आवेदक संख्याका आधारमा वा अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्नेछ । एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउने छ ।
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।