पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।
आज बिहान ११:०० बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताए । पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरूप रातो बत्ती बाली रातो झण्डा राखिएको छ । यसैगरी कोशी ब्यारेज वरिपरि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोशी ब्यारेजको निरीक्षण गरेको छ ।