नेपाली राष्ट्रिय महिला टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक जित हासिल गरेको छ । बैंककमा जारी साफ फुटसल च्याम्पियनसिपमा बिहीबार नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्स लाई ५-० ले हरायो । नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय फुटसलमा जित निकालेको पहिलोपटक हो ।
हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई तथा विमला चौधरी र मनिषा थापामगरले एक/एक गोल गरे । एक गोल नेपाललाई आत्मघाती उपहारका रूपमा प्राप्त भयो । पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफा भने एक गोलमात्र थप्न सक्यो । खेलको चौथो मिनेटमा जेनिफरको गोलमार्फत नेपालले अग्रता लिएको थियो । ११औं मिनेटमा विमलाले टोलीको अग्रता दोब्बर बनाइन् ।
त्यसको एक मिनेटपछि नै जेनिफरले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३-० ले अगाडि बढ्यो । १९ औँ मिनेटमा मनिषाले पेनाल्टीमार्फत टोलीका लागि चौथो गोल गरिन् । नेपालले अन्तिम मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो ।
जितसँगै नेपाल दुई खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । यसअघि नेपालले श्रीलंकासँग २-२ को बराबरी खेलेको थियो । दुवै खेल गुमाएको माल्दिभ्स अंकविहीन छ । माल्दिभ्सले यसअघि भारतसँग ११-१ को फराकिलो हार व्यहोरेको थियो । बिहीबारै सम्पन्न पहिलो खेलमा बंगलादेशले भारतविरुद्ध ३-१ को जित निकालेको थियो ।
नेपालको अर्को खेल शनिबार भारतविरुद्ध हुने तालिका छ ।