सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौंबाट पोखरा परीक्षणका लागि जाने क्रममा ९ एन–एएमई सीआरजे-७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा सवार १८ जनाको मृत्यु भएको जनाएको छ ।
विमान चालक क्याप्टेन मनिष शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।
यसैबीच, जहाज दुर्घटनापछि सबै उडान बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: सञ्चालन भएको छ । दुर्घटनाग्रस्त जहाज उद्धारको काम सकिएपछि विमानस्थल पुन: सञ्चालनमा आएको हो । जहाज दुर्घटनापछि अहिले मन्त्रीपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।