नेपालबाट मनसुन बाहिरिन सुरु

Yangle News
Yangle News
२०८२ अशोज २० गते
नेपालबाट मनसुन बाहिरिन सुरु

जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ ।

यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट बाहिरिएको विभागले सोमबार एक ‘बुलेटिन’ जारी गरी जनाएको हो । मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जाने जनाइएको छ ।

नेपालबाट मनसुन बाहिरिँदै गर्दा पश्चिमी वायुको प्रभाव सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा पश्चिमी वायुको प्रभाव सुरु भएको हो । जसका कारण आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भेगका थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Yangle News