दक्षिण कोरियाको राजधानी सियोल नजिकै राजमार्गमा बिहीबार एउटा मालबाहक ट्रक र बस एकआपसमा ठोक्कियर आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका छन् ।
एजेन्सीका अनुसार ट्रकको ठक्कर र आगलागीको कारण के हो र ट्रकले कुन सामान बोकेको थियो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन ।
नेसनल फायर एजेन्सीले एक विज्ञप्ति जारी गर्दै घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र अन्य ३४ जना सामान्य घाइते भएको जनाएको छ । अग्नि नियन्त्रक अधिकारीका अनुसार राजमार्गमा रहेको ‘नोइज ब्यारियर टनेल’मा ठोक्किएर दुर्घटना भएको हो ।
यसअघिको टिभी फुटेजमा सुरुङबाट धुवाँको बाक्लो कालो मुस्लो निस्केको देखिएको थियो तर अग्नी नियन्त्रक अधिकारीहरूले पछि आगो लगभग निभाइसकेको बताएका थिए।
एबीसी न्यूजका अनुसार अग्नि नियन्त्रकको सार्वजनिक मामिला कार्यालयले तत्काल पाँच जनाको मृत्यु कहाँबाट भएकाे हो भन्ने एकिन गर्न नसकेको बताए।