अविरल वर्षापछि आएको आकस्मिक बाढीले बाजुरामा २४ घर पूर्ण क्षतिग्रस्त भएका छन् । हिमाली गाउँपालिका-१ मा पर्ने बिच्छ्या खोलामा आएको बाढीले बिच्छ्यामा १३ र वडा नम्बर ५ को कुवाडीमा ११ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार केही घर बगाएका छन् भने केही पुरिएका छन् । घटनामा मानवीय क्षति भने भएको छैन । आज दिउँसो आएको उक्त बाढीका कारण धेरै घर र विभिन्न सरकारी संरचनाहरू समेत उच्च जोखिममा रहेका छन् ।
बिच्छ्यामा नरेन्द्र बहादुर थापा, छन्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापा, आइसिंह बोहरा, भिमराज बोहरा, चन्दलाल बोहरा, मनी बुढा, रबिलाल बोहरा, बिर सिंह बोहरा, धनरुप बोहरा र प्रबल बोहाराका घर पूणरुपमा क्षति भएको हो ।
त्यस्तै, कुवाडीका नवराज बुढथापा, देवीलाल चदारा, बिरमल चदारा, अजय चदारा, अङ्गविर चदारा, हिउसरा लुहारको घर बगाएको छ । साथै, बलबहादुर चदारा, मुगा लुहार, देविलाल बुढथापा, विरभान लुहार र डबल लुहारको घरमा क्षति पुगेको हो ।
बिच्छ्याका सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रपती थापा, धर्मलाल थापा, बलभन्द्र थापा, उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल रोकाया, चन्द्रमान बोहरा, रत्नपती थापा, गोवनल थापा, धर्मजीत थापा र लक्ष्मण थापा ढुंगामाटोले बनेका घर, पसलहरू जोखिममा रहेका छन् ।
दुवै गाउँमा बाढीले खेतीयोग्य जमीनसमेत बगाएको छ । विद्यालय भवन, स्वास्थ्य चौकी लगायतका सरकारी संरचनाहरु जोखिममा रहेका छन् । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले अहिले पीडितहरूको उद्धार तथा राहत कार्यका लागि समन्वयमा भइरहेको बताए ।