मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।
मुक्तिनाथ मन्दिर दर्शन तथा मुस्ताङ भ्रमणका क्रममा सबैभन्दा बढी भारतीय पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । उनका अनुसार मुस्ताङ आउनेमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ-४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका-२ मा लेक लागेर मृत्यु भएको हो ।
लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन् । २०८० सालमा १७ जनाले लेक लागेर ज्यान गुमाएका थिए । प्रदेश स्वास्थ्य कार्यालय, घरपझोङ र थासाङ गाउँपालिकाले पनि लेक लाग्ने समस्यासम्बन्धी वाल पेन्टिङ तथा भित्ते लेखन कार्यक्रम गरी मुस्ताङ भित्रने पर्यटकलाई सचेत गर्दै आएको छ । विशेषतः समुद्री सतहबाट तीन हजार आठ सय मिटरको उचाइदेखि लेक लाग्न थाल्छ ।
ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त र दीर्घरोगका औषधि सेवन गर्ने पर्यटकलाई लेक लाग्ने गरेको पाइएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज भुवन क्षेत्रीले जानकारी दिए ।