प्रचण्ड कप भलिबल : पहिलो दिन दुई खेल हुँदै

Yangle News
Yangle News
२०८२ जेष्ठ २७ गते
प्रचण्ड कप भलिबल : पहिलो दिन दुई खेल हुँदै

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुने भएका छन् ।

आयोजक नेसनल स्पोर्ट्स एकेडेमीका अनुसार उद्घाटन खेलमा नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्नेछन् । पोखरा रंगशालाको कभर्डहलमा यी दुईबीचको खेल अपरान्ह्र ४ बजे हुनेछ । यी दुई टोली पोल ‘ए’मा छन् । यो पोलमा स्टेप रामपुर छ । अर्को पोलमा भने न्यु डायमन्ड स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लब छन् । पहिलो खेल सकिएलगत्तै न्यु डायमन्ड र एभरेस्ट भिड्नेछन् ।

राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको लिग चरणका खेल हेर्न २ सय र फाइनल खेल हेर्न ४ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । उद्घाटनको दिन प्रवेश नि:शुल्क गरिएको आयोजकले जनाएको छ ।