भोटेकोसीमा आज बिहान ३ बजेदेखि बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जलसतह बढेको छ ।
रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेंसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ ।
बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका-५ स्थित ‘त्रिशूली-काठमाडौं प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ
त्यस्तै, रसुवाको ल्हेन्दे खोलामा बाढी आएको छ । गोसाइकुण्ड गाउँपालिकास्थित ल्हेन्दे खोलामा चीनमा परेको पानीका कारण बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।
उक्त बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा बगाएको छ । ‘अहिले पनि बाढीको सतह उच्च रहेकाले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशूली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिन्छ,’ प्राधिकरणले भनेको छ, ‘खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठदाउरा टिप्न जानेजस्ता कार्य नगर्न आग्रह छ ।’