कतारको दोहामा सुरु दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले पनि सहभागिता जनाएको छ । कतारस्थित दोहा कन्भेन्सन सेन्टरमा आज सुरु दशौँ अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासङ्घले भाग लिएको हो । प्रदर्शनीमा महासङ्घका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक गोविन्द घिमिरेको नेतृत्वमा २१ निर्यात व्यवसायीले भाग लिएका छन् ।
नेपाल र कतारबिच व्यवसायिक सम्बन्ध स्थापित हुने विश्वास
कतार नेपालका लागि वैदेशिक रोजगारको गन्तव्य देश मात्र नभई नेपालका मौलिक उत्पादनको पहिचान र प्रवर्द्धनका साथै व्यवसायिक सम्बन्ध स्थापित गर्न मेलामा सहभागीता जनाइएको हो । मेला कतार सरकार, नेपाल सरकार नेपाली राजदूतावास, निर्यात व्यवसायी महासङ्घको संयुक्त प्रयासमा आयोजना गरिएको हो ।
छ दिन चल्ने प्रदर्शनीमा नेपालका तर्फबाट चिया, जडीबुटी, अलैँची, अदुवा, डेरीका उत्पादन लगायतको स्टल रहने महासंघका कार्यालय सचिव दिपेश घिमिरेले जानकारी दिएका छन् । यस्तै प्रदर्शनीमा अल्टरनेटिभ हर्बल प्रोडक्टस् प्रालि, हिमालयन बायो ट्रेड, कन्चनजङ्घा टिस्टेट, इलाम टी उत्पादन कम्पनी, जडीबुटी उत्पादन कम्पनी लिमिटेड, एभरेष्ट लार्ज कार्डमम् उद्योगको सहभागिता रहनेछ ।
प्रदर्शनीमा नेपाल र कतारका व्यवसायीबीच ‘विटुवी मिटिङ’ र व्यावसायिक सम्झौता हुने महासङ्घले जनाएको छ ।