प्रधानमन्त्री ओलीले गराए चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी

Yangle News
Yangle News
२०८२ भदौ १३ गते
प्रधानमन्त्री ओलीले गराए चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको कार्यतालिकाबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।

सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले भदौ १४ देखि १८ सम्म चीनको ५ दिने औपचारिक भ्रमणबारे जानकारी गराएका हुन् । उनले चीनको थियानजिनमा आयोजना हुने शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको बताए ।

उनले भ्रमणको मूल उद्देश्य एससिओ सम्मेलनमा नेपालको दृष्टिकोण र प्राथमिकता प्रस्तुत गर्नु रहेको बताए । उनका अनुसार भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।

एससिओ शिखर सम्मेलनका दौरान विभिन्न मित्र राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग नेपालसँग सम्बन्धित द्विपक्षीय तथा अन्य प्राथमिकताका विषयमा छलफल हुने उनले जानकारी दिए । उनले बेइजिङमा आयोजित फासिवाद विरोधी युद्ध र जापानी अतिक्रमणविरुद्धको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनेसमेत बताए ।

प्रधानमन्त्री ओलीले भ्रमणबाट नेपाल-चीन मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अवधारणा र प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे ।

यसैबीच, प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा लिपुलेकका विषयमा पनि कुरा राख्ने बताएका छन् । संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको भूमिमा भारत-चीनले व्यापार मार्ग खोल्न गरेको सहमतिबारे कुरा राख्ने बताएका हुन् । उच्चस्तरीय भेटवार्तामा लिपुलेकको कुरा त उठाउनुहुन्छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्रीले अवश्य उठ्ने प्रतिक्रिया दिएका हुन् ।