प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

Yangle News
Yangle News
२०८२ भदौ १३ गते
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दैछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि चीन जाँदैछन् । भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ तथा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र सहभागी अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखबीच प्रधानमन्त्री ओलीको दुई पक्षीय भेटवार्ता तय हुने क्रम जारी रहेको छ ।

भ्रमणको कार्यक्रमबारे परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ भने भ्रमण दलमा रहेका सदस्यबीच प्रधानमन्त्री ओलीको उपस्थितिमा मन्त्रालयले आज प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रिफिङ गरिसकेको छ । प्रधानमन्त्री ओलीसहित २३ सदस्यीय टोलीलाई मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल कुमारराज खरेलले विस्तृत कार्यक्रम र व्यवस्थापकीय पक्षबारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओली यही १४-१८ भदौ (अगष्ट ३० देखि सेप्टेम्बर ३०)सम्म चीनको तियानमिन शहरमा हुने एससीओको शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहान तियानमिन प्रस्थान गर्नेछन् । उनले सोही दिन साँझ चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमण विरुद्धको प्रतिरोध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सवमा सहभागिता जनाउनेछन् । उनले १६ भदौमा तियानमिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी विश्वका केही नेताहरूसँग भेटवार्ता गर्नेछन् । हालसम्म चीन र रुसका साथै भियतनाम, माल्दिभ्स, लाओपिपुल्स, क्याम्बोडिया राष्ट्र/सरकार प्रमुखसँग भेटवार्ता गर्ने तय भएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओली १७ भदौमा तियानमिनबाट बेइजिङ जानेछन् र चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् । उनले १८ भदौमा बेइजिङमा आयोजना हुने जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवाद विरोधी युद्धमा विजयको ८०औं वार्षिकोत्सवका स्मृति कार्यक्रमको परेडमासमेत सहभागिता जनाउनेछन् । भ्रमण दल सोही दिन राति स्वदेश फर्कनेछ ।

प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा गत १७-२० मंसिरमा चीनको औपचारिक भ्रमण गरेका थिए ।