नेकपा (एमाले)ले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराजा जिम्मेवारीबाट पन्छिएको टिप्पणी गरे ।
पूर्वराजा शाहमा अहिलेको उपलब्धिलाई पछाडि फर्काउन सकिने आशा जीवितै रहेको पाइएको ज्ञवालीले बताए । ‘चैत १५ गते तीनकुनेमा जुन घटना घट्यो, त्यसलाई हामीले आपराधिक घटना भनेका छौं । त्यसलाई उहाँले जनजागरण भनेर व्यक्त गर्नुभयो । त्यसैलाई जनजागरण भन्ने हो ? सर्वसाधारणको घरमा लुटपाट, सरकारी कार्यालयमा विध्वंस उहाँले भनेको जनजागरण ? यो स्वीकार्य हुँदैन,’ उनले भने । उनका अनुसार, यस्ता क्रियाकलाप अस्वीकार्य रहेको भनेर बैठकले निर्णय नै गरेको छ ।
बैठकले सातजना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने निर्णय गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वलाई ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मान गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । उनका अनुसार सम्मान गरिने व्यक्तित्वहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) रहेका छन् ।
त्यसैगरी बैठकले तत्कालीन नेकपा (माले) र कोर्डिनेशन केन्द्र पार्टी निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको पुस्तक ‘सेल्टर’ सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।
सचिवालय बैठकका निर्णयहरु :