६ लाख ११ हजार बढीले छाडे काठमाडौं

Yangle News
Yangle News
२०८२ अशोज १५ गते
६ लाख ११ हजार बढीले छाडे काठमाडौं

दशैंको घटस्थापनादेखि आज नवौं दिनको अवधिसम्म ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो संख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यकाबाट बाहिरिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौं उपत्यका छाडेका छन् । दशैं सुरु भएसँगै काठमाडौं उपत्यका छाड्ने नागरिकको संख्या तीव्र रूपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘अहिले राजधानी छाडेर जानेको संख्या बढेको छ, काठमाडौं भित्रिने र बाहिरिने नाकामा सामान्य तरिकाले सवारी साधन चलिरहेका छन् ।’ घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएका सवारी साधनको संख्या एक लाख १३ हजार ४१५ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् ।

काठमाडौं उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट तीन लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दसैंको बेलामा विशेषगरी कोटेश्वर, कलंकी, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड लाग्ने गर्दछ भने सवारीसाधनको समेत चाप हुने गर्छ ।