उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल १० हजारसम्म शान्ति सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन् । घानाको आक्रामक भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा सम्बोधनका क्रममा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको समेत बताए ।
खड्काले संयुक्त राष्ट्रका महासचिवको पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएको बताएका छन् । यसले शान्ति सैनिकहरूको सुरक्षा, आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उनले बताए ।
शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टीपीसीसीलगायत सम्बन्धित प्रमुख सरोकारवालाहरूबिच सुधारिएको समन्वय संयन्त्र धेरै महत्त्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने उनले बताए ।
उपप्रधानमन्त्री खड्काले नेपाल यस वर्ष विशेष सुरक्षा बल र तत्काल प्रतिकार्य बललाई कायम राख्दै एउटा मेकानाइज्ड इन्फन्ट्री बटालियन र दुई वटा इफपीयू र आरडीएलमा स्तरोन्नति गर्न प्रतिबद्धता समेत जनाएका छन् ।
उपप्रधानमन्त्री खड्काले नेपालले संयुक्त राष्ट्रसङ्घका महासचिवको लैङ्गिक समानता रणनीतिको लक्ष्य पूरा गर्न महिलाहरूलाई अपरेसनल भूमिकामा परिचालन गर्दै अर्थपूर्ण सहभागिता बढाउने कार्य निकै उल्लेखनीय रहेको बताए । नेपाल संयुक्त राष्ट्र सङ्घको संरक्षणमा विश्व शान्तिका लागि दृढ प्रतिबद्ध रहेको समेत उनको भनाइ छ ।
नेपाल सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा सहभागि हुँदै आएको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत विश्वभरका १६ विभिन्न मुलुकमा छ हजार दुई सय ७८ नेपाली शान्ति सैनिक तैनाथ छन् । शान्ति मिसनमा खटिएको सेना र प्रहरी संख्याका आधारमा नेपाल दोस्रो ठुलो देशका रूपमा रहेको छ ।