प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक केहिदिन यता निरन्तर बसिरहेको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा हिजो पनि छलफल भयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको हिजोको छलफलमा समसामयिक राजनीतिक अवस्थामा केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आएपछि यी तीनजना नेताको भेट बाक्लिएको छ । प्रभावशाली नेताहरुसमेत सो प्रकरणमा मुछिन थालेपछि प्रमुख दलका शीर्ष नेताहरुबीच पटकपटक छलफल र भेटघाट हुँदै आएपनि छलफलका विषय सार्वजनिक गरिएका छैनन् । जसलाई सर्वसाधाणदेखि राजनीतिक वृत्तमा समेत शंकाका दृष्टिले हेर्न थालिएको छ ।
नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने भन्दै सर्वसधारणबाट रकम असुलेको गिरोहका सदस्यहरुको बयानका आधारमा अनुसन्धानका लागि पक्राउ परेका तात्कालिन गृहमन्त्री एवंम् कांग्रेस नेता बालकृष्ण खाँण अहिले प्रहरी हिरासतमा छन् । पक्राउपुर्जी जारीपछि एमाले सचिव तोपबहादुर रायमाझी फरार छन् भने उनका छोरा सन्दीप प्रहरी हिरासतमा छन् ।
सोही प्रकरणमा कांग्रेस सभापति देउवाकी श्रीमति तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणालाई अढाइ करोड र खाँणकी श्रीमति मञ्जु खाँणलाई ६ करोड रुपैयाँ बुझाएको भन्ने अडियो सार्वजनिक भएपछि शीर्ष नेताको भेट बाक्लिएको हो ।