डढेलोले वनका चराचुरुङ्गी मासिँदै, वन्यजन्तुको पनि चहलपहल घट्यो

Yangle News
Yangle News
२०७९ चैत्र १ गते
डढेलोले वनका चराचुरुङ्गी मासिँदै, वन्यजन्तुको पनि चहलपहल घट्यो

महोत्तरीका वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको मिठो चिरबिर आवाज आजभोलि सुनिन छाडेको छ । दिनहुँजसो वनक्षेत्रमा डढेलो लाग्न थालेपछि चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको वनक्षेत्र नजिकका सर्वसाधारणको भनाइ छ । रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल नहुँदा वनभित्रको प्राकृतिक र रमणिय अभास घटेको छ ।

बर्दिबास नगरपालिकाको मुख्यकेन्द्र बर्दिबासचोकबाट पाँच सय मिटरमात्र दूरीमा रहेका सामुदायिक वनहरु नेवारडाँडा, कामीडाँडा, पानीखोल्सी र रातमाटामा सहजै देखिने मयुर फागुन १५ गते यता देखिन छाडेको बर्दिबास–१ र ३ को गौरीडाँडाका बासिन्दा बताउँछन् ।

“मयुर त जताततै देखिन्थे, यसो खोल्सीतिर पस्ने बित्तिक्कै थरिथरिका चराको चिरबिर सुनिन्थ्यो”, बर्दिबास–१ का दिनेस खड्का भन्छन्, “अचेल केही दिनयता यी चरा देखिँदैनन् ।” त्यस्तै वनमा बाक्लै हुने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएको खड्का बताउँछन् ।

तीन दिनदेखि नेवारडाँडा–कामीडाँडा वनमा डढेलो लाग्दै आएको छ । त्यसैगरी रातमाटा वनक्षेत्रका कैयौँ ठाउँमा डढेलो बढ्दै गएको छ ।

दिनदिनैको डढेलोले वनसँगै टाँसिएका बस्तीका स्थानीय राति निश्चिन्त भएर सुत्न समेत नसकेको स्थानीय कमल विष्टको भनाइ छ ।

पूर्वपश्चिम राजमार्ग वारि र पारिका सबैजसो वनमा अहिले डढेलोको मुस्लो, डढेलोले जलेको ठुटा र खरानी देखिन्छ । डढेलोले गर्दा वनका चराचुरुङ्गी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ डढेर खरानी भएको देख्नुपरेको ६० वर्षीया कर्णमाया गुर्मछाने बताउँछिन् । जिल्लाको चुरे पहाडी शृङ्खला बर्दिबास नगरक्षेत्रमै पर्छ ।

दिनहुँ वनक्षेत्रमा जताततै डढेलोले वनसम्पदा सखाप पार्दैछ । यसपालि हिउँदे वर्षा नहुँदा वनक्षेत्रमा सुकेर झरेको पतिङ्गरमा आगो चाँडै फैलँदा छिनभरमै जताततै काला ठुटा र खरानी देखिन्छ । वनसम्बद्ध कर्मचारी भने आवश्यक सङ्ख्याका सुरक्षा जनशक्ति नहुँदा सघन गस्ती हुन नसकेको बताउँछन् ।

वनक्षेत्र नजिकका बस्ती–बस्तीमा डढेलोविरुद्धको जिम्मेवारीसहितको सामुदायिक सहभागिता बढाउन सके यो समस्या घटाउन सकिने विज्ञ बताउँछन् ।

जिल्लामा राष्ट्रिय वन, सामुदायिक वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनासमेत २४ हजार हेक्टरभन्दा बढी वनक्षेत्र रहेको तथ्याङ्क छ ।

बर्सेनि डढेलोविरुद्ध जनचेतना अभिवृद्धिका कार्यक्रम गरिए पनि यो समस्या भने घटेको छैन । वनक्षेत्र नजिकका पशुपालक किसानका गोठालाले नै डढेलो लगाएपछि वर्षा हुनासाथ नयाँ घाँस पलाउने विश्वासमा डढेलो लाउने गरेको उनीहरुको निष्कर्ष छ ।

 

 

 

337 views