मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको २९औं मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गर्ने भएको छ ।
५८ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेका एकनारायण अर्यालपछि सुमनराज अर्याल मुख्य सचिव पदमा नियुक्त हुने भएका हुन् । मुख्य सचिवको रूपमा उनले अब ७ महिना निजामती कर्मचारीको नेतृत्व गर्नेछन् ।
अर्याल २०७७ माघमा सचिवमा बढुवा भएका थिए । उनले कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक कार्यालय, महिला, ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काम गरेका थिए ।
२०२५ असार २६ गते जन्मिएका काठमाडौं, जोरपाटीका अर्यालले उमेरहदका कारण २०८३ असार २५ गते अवकाश पाउनेछन् । तथ्यांक विज्ञ अर्याल असोज पहिलो हप्ता राष्ट्रिय योजना आयोगबाट रक्षा मन्त्रालयमा सरुवा भएका थिए ।