विपद् जोखिम न्यूनीकरणका लागि सरकारलाई निर्देशन

Yangle News
Yangle News
२०८२ असार १२ गते
विपद् जोखिम न्यूनीकरणका लागि सरकारलाई निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले वर्षायाममा बाढी, पहिरो, डुबानजस्ता मौसमजन्य उच्च जोखिम क्षेत्रहरू पहिचान गरी पूर्वसूचना प्रणाली सुदृढीकरण गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले जोखिम क्षेत्रमा बसोवास गर्ने मानिसहरूको स्थानान्तरण, उद्धार तथा राहत व्यवस्थापनमा पालिका र प्रदेश तहसँग सहकार्य गरी काम गर्न मन्त्रालयहरूलाई निर्देशन दिएको हो ।

समितिले विपद्को पूर्वसूचनाका लागि अहिले प्रयोग गर्दै आएको एसएमएस प्रणाली भरपर्दो नभएको भन्दै फोनमार्फत आवाज बजाएर सूचना दिने प्रणाली यही वर्षदेखि लागू गर्नसमेत निर्देशन दिएको छ ।

बैठकमा जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले विपद् आउनुभन्दा २४ घण्टा अगाडि मात्रै पनि पूर्वसूचना प्रणाली समुदायमा पुगेको खण्डमा ३० देखि ४० प्रतिशत हानिनोक्शानी घटाउने बताए ।

यस्तै जलवायुविद् डा. वसन्त अधिकारीले प्राकृतिक प्रकोपलाई मानवीय लापर्बाहीका कारण विपद् बन्न नदिन सरकारको ध्यानाकर्षण गराए ।