अध्यक्ष लिङ्देन लगायतका राप्रपा नेताहरू सिंहदरबारबाट पक्राउ

Yangle News
Yangle News
२०८२ बैशाख ७ गते
अध्यक्ष लिङ्देन लगायतका राप्रपा नेताहरू सिंहदरबारबाट पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् ।

सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आज दिउँसो उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार लिङ्देनसहित राप्रपा उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका हुन् । तीनैजनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा छलफलपछि बाहिरिने क्रममा उनीहरूले विभिन्न नारा लेखिएका पम्प्लेटसहित प्रदर्शन गरेका थिए । निषेधित क्षेत्र तोड्ने लक्ष्यसहित सडकमा कार्यकर्ताहरूले प्रदर्शन जारी राखेकै बेला सांसदहरू भने सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका हुन् ।

राप्रपाले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने बताएपछि बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको थियो । गृहमन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कानुन उल्लंघन नगर्न आग्रह गरेको थियो । मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको थियो ।

अध्यक्ष लिङ्देनले सरकारले मानिसको बोल्ने, लेख्ने र प्रदर्शन गर्ने अधिकारलाई खुम्च्याउँदै लगेको बताएका छन् । सिंहदरबारभित्र प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले तीनकुने घटनाबारे छानबिन गर्न न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, राप्रपाका नेताहरूको रिहाइ हुनुपर्ने माग गरे । सरकारले सुनोस् भनेर सिंहदरबारबाट प्रदर्शन गरिएको पनि उनले बताए ।